मन्त्री अधिकारीको अन्त्येष्टि गृहजिल्लामै गरिने
पोखरा, फागुन १६ : हेलिकप्टर दुर्घटनामा परी निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको उनको गृह जिल्लामै अन्त्येष्टि गरिने ....
पोखरा, फागुन १६ : हेलिकप्टर दुर्घटनामा परी निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको उनको गृह जिल्लामै अन्त्येष्टि गरिने भएको छ ।
कास्की क्षेत्र नं. २ बाट प्रतिनिधि सभामा निर्वाचित अधिकारीको कास्कीमै अन्त्येष्टि गरिने भएको हो । मन्त्री अधिकारीको शव शुक्रबार बिहान ८ बजेदेखि पोखरा प्रदर्शनी केन्द्रमा अन्तिम श्रद्धाञ्जलिका लागि राख्ने तयारी भइरहेको उनका स्वकीय सचिव राजेन्द्र आचार्यले बताए । मन्त्री अधिकारी पोखरा–३३ भरतपोखरीको जामुनाबोटमा जन्मिएका थिए ।
उनको शव काठमाडौं लगिएपछि त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टम गरिने छ । त्यसपछि नेकपाको केन्द्रीय कार्यालयमा पार्टीको झण्डा ओढाउने र केहीबेर श्रद्धाञ्जलिका लागि राखिने भएको छ ।
त्यसलगत्तै काठमाडौं खुलामञ्चमा सम्मानका लागि लगिने जनाएको छ । सरकारले उनको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने बुधबार नै निर्णय गरिसकेको छ ।
त्यसपछि उनको शव आज बेलुका पोखरा ल्याइने पोखरा महानगरपालिका–३३ का वडाध्यक्ष शिवप्रसाद आचार्यले बताए । शुक्रबार बिहान पोखरा प्रदर्शनी केन्द्रमा अन्तम श्रद्धाञ्जलि अर्पण गरेपछि दाहसंस्कार गरिने भएको छ ।






