Kathmandu Press

बौद्धको तेमाल जात्रा, बालाजु २२ धारा र जामाचो मेला स्थगित

काठमाडौं, चैत २६ : दिवङ्गत पितृको सद्गतिको कामना गर्दै बौद्ध चैत्यमा दीप प्रज्वलन गर्ने तामाङ समुदायको पर्व तेमाल जात्रा यस वर्ष प्रभावित भएको छ। कोरो....

बौद्धको तेमाल जात्रा, बालाजु २२ धारा र जामाचो मेला स्थगित

काठमाडौं, चैत २६ : दिवङ्गत पितृको सद्गतिको कामना गर्दै बौद्ध चैत्यमा दीप प्रज्वलन गर्ने तामाङ समुदायको पर्व तेमाल जात्रा यस वर्ष प्रभावित भएको छ। कोरोना भाइरसको संक्रमणबाट बच्न जारी लकडाउनको कारण सबै राजनीतिक दलका प्रतिनिधि, बौद्धनाथ क्षेत्र विकास समिति, महानगरीय प्रहरी वृत्त बौद्धलगायत सरोकार भएका निकायका अधिकारीको बैठकले जात्रा स्थगित गरिएको काठमाडौँ महानगरपालिका–६ का अध्यक्ष दीपेन्द्रकुमार लामाले बताए।

प्रत्येक वर्ष चैत्र शुक्ल चतुर्दशीको बेलुकीदेखि नै बौद्ध चैत्यमा आई दीयो बाले दिवङ्गत पितृको आत्माले शान्ति पाउने बौद्ध धार्मिक मत छ। यसै विश्वासका आधारमा वर्षेनी लाखौँ भक्तजनले बौद्ध चैत्यमा बत्ती बाल्ने गरदै आएका थिए। पूर्णिमाका दिन बिहानसम्म बौद्धमा बत्ती बाली बालाजु २२ धारा स्नान गरेर जामाचो, स्वयम्भूलगायत तीर्थस्थलमा दर्शन गर्ने विधि छ। यो विधि पनि यसपटक प्रभावित भएको छ। बौद्ध चैत्यमा लामा गुरुले गर्ने पूजा पाठलगायत नित्य कर्म भने विधिपूर्वक सम्पन्न गरिएको वडाध्यक्ष लामाले बताए।

बालाजु २२ धारामा स्नान गरेरमा पाप पखालिई पूण्य कमाइने धार्मिक विश्वाससमेत छ। जामाचो उपत्यका नजिकको पदमार्गका रुपमा समेत स्थापित भएको छ । जहाँ चैत्र शुक्ल पूर्णिमाकै अवसरमा धेरै धार्मिक पर्यटक पुग्ने गर्थे । तेमालका अन्तिम राजा रिञ्जिन दोर्जे बलले विसं १८१९ मा तेमाल जात्रालाई राजकीय मान्यता दिई जात्रा मनाउन प्रजालाई बौद्ध क्षेत्रमा पठाएको इतिहास छ। यसैले जात्राको नाम तेमाल रहन गएको समितिका अध्यक्ष चन्द्रमान लामाले बताए।

कार्तिक शुक्ल पूर्णिमामा काभ्रेपलाञ्चोकको नमोबुद्ध, मार्गशीर्ष शुक्ल पूर्णिमामा काभ्रेपलाञ्चोककै धनेश्वर र चैत्र शुक्ल चतुर्दशीका दिन बौद्धमा लाग्ने तेमाल जात्राका बीचमा सम्बन्ध रहने गरेको समितिका कार्यकारी निर्देशक वसन्त लामा बताएँछन्। जामाचो जान चैत्र शुक्ल पूर्णिमाका दिन मात्र रानीवनस्थित नेपाली सेनाको चेकपोष्ट खुल्ने गरेको छ । घना जङ्गल भएकाले यो बाटो जामाचो जाँदा समूहमा जानुपर्ने हुन्छ । जामाचोको ३५ मिटर तलको गुफामा बुद्ध ध्यान गरेर बसेको मूर्ति पनि यहाँ जाने दर्शनार्थीका साथै स्वदेशी एवं विदेशी पर्यटकको आकर्षणको केन्द्र बन्ने गरेको छ । जामाचो जान हाल जीपलगायत सवारी जानसक्ने मोटरबाटो भए पनि बाइसधाराबाट छोटो बाटो हिँडेरसमेत जानसकिने समितिका कार्यकारी निर्देशक लामाले बताए।

सत्ययुगमा विपश्वी बुद्धले जामाचोबाट उपत्यकाको दहमा कमलको फूल रोपेपछि त्यहीँबाट स्वयम्भू ज्योतिको उत्पत्ति भएको बौद्ध धार्मिक मत छ। त्यही बेलादेखि चैत्र शुक्ल चतुर्दशीका दिन बौद्ध चैत्यमा दिवङ्गत पितृका नाममा बत्ती बाल्ने परम्परा शुरु भएको हो।

प्रकाशित मिति: १३:२० बजे, बुधबार, चैत २६, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्