सुधारगृहका बालबालिकाहरूको आधारभूत अधिकारको रक्षा गर्ने गृहमन्त्रीको प्रतिबद्धता
‘सीमित श्रोत र साधनको बीच हामीले काम गर्नुपर्ने हुँदा चाहे जति काम हुन सकेको छैन,’ उनले भने, ‘तर म के प्रतिवद्धता जनाउन चाहन्छु भने बालसुधारगृहमा कसैका बालबालिकाहरुको आधारभूत मौलिक हक, अधिकार र मानव अधिकारको संरक्षण गरिने छ। स्वास्थ्यको ख्याल र सुरक्षा पनि गरिने छ।’
काठमाडौं, साउन १६ : गृहमन्त्री रमेश लेखकले बालसुधार गृहमा रहेका बालबालिकाहरुको आधारभूत मौलिक हक, अधिकार र मानव अधिकारको हनन हुन नदिने प्रतिबद्धता जनाएका छन्।
बुधबार राज्य व्यवस्था तथा सुशासन समितिमा भएको शान्ति सुरक्षा र कारागार व्यवस्थापन सम्बन्धी छलफलमा उनले सीमित श्रोत र साधनको बीचमा अन्य काम छोडेर भएपनि बालबालिकाहरुको आधारभूत अधिकार परिपूर्ती गर्ने प्रतिबद्धता जनाएका हुन्।
‘सीमित श्रोत र साधनको बीच हामीले काम गर्नुपर्ने हुँदा चाहे जति काम हुन सकेको छैन,’ उनले भने, ‘तर म के प्रतिवद्धता जनाउन चाहन्छु भने बालसुधारगृहमा कसैका बालबालिकाहरुको आधारभूत मौलिक हक, अधिकार र मानव अधिकारको संरक्षण गरिने छ। स्वास्थ्यको ख्याल र सुरक्षा पनि गरिने छ।’
गृहमन्त्री लेखकले कसैलाई जोगाउनका निम्त प्रहरी संगठन र प्रशासनको दुरुपयोग हुन नहिने पनि प्रतिबद्धता जनाए। उनले प्रहरी कसैको स्वार्थमा प्रयोग नहुने बताए।
उनले प्रहरीको सरुवालाई सरुवाकै रुपमा मात्र बुझ्न पनि आग्रह गरेका छन्।