माओवादीका उपमहासचिव गजुरेलले राखे सामुहिक राजीनामाको प्रस्ताव
उनले पार्टीभित्र विधान उल्लंघन गर्ने प्रवृत्ति बढेको भन्दै असन्तुष्टी समेत व्यक्त गरेका छन्। गजुरेलले ६ बुँदे प्रश्ताव राख्दै स्थायी समिति बैठकमा पेस गर्ने गरी अध्यक्षसहित सबैले राजीनामा दिनुपर्ने बताएका छन्।
काठमाडौं, साउन १६ : माओवादी केन्द्रका उपमहासचिव हरिबोल गजुरेलले पार्टीको पदाधिकारी बैठकमा सामूहिक राजीनामाको प्रस्ताव राखेका छन्।
गजुरेलले पदाधिकारीमा नैतिकता नभएको बताउँदै यस्तो प्रश्ताव राखेका हुन्। गत शुक्रबारदेखि मंगलबारसम्म माओवादी केन्द्रको पार्टी पदाधिकारी बैठक चलेको थियो।
उनले पार्टीभित्र विधान उल्लंघन गर्ने प्रवृत्ति बढेको भन्दै असन्तुष्टी समेत व्यक्त गरेका छन्। गजुरेलले ६ बुँदे प्रश्ताव राख्दै स्थायी समिति बैठकमा पेस गर्ने गरी अध्यक्षसहित सबैले राजीनामा दिनुपर्ने बताएका छन्।
‘महान् यात्रामा लामबद्ध हुन राजीनामाले नैतिक बल प्रदान गर्दछ। कार्यकर्ता र जनताको विश्वास जितेर पार्टीलाई एकताबद्ध गर्न र निरन्तरतामा क्रमभंग गर्न आवश्यक छ। घिसेपिटे निर्णय गरेर कार्यकर्ता र जनताको भाँचिएको मन जोड्न सकिन्न,’ उनको प्रस्तावमा भनिएको छ।
पार्टीमा देखापरेका समस्या समाधानका लागि बृहत् छलफल नगर्ने हो भने गम्भीर दुर्घटनामा पर्ने चेतावनी समेत दिएका छन्। उनले नेताहरूको जिम्मेवारी दिँदा गरेको गल्तीले नेतृत्वको अक्षमता छताछुल्ल भएको भन्दै सच्याउन समेत आग्रह गरेका छन् ।
मार्क्सवादको नीति, विचार र विधिबाट पार्टी च्यूत भएको निश्कर्ष गजुरेलको छ। उनले पुष्पकमल दाहाल प्रधानमन्त्री छँदा राजनीतिक सल्लाहकार रहेका उनले बीचमै पदबाट राजीनामा दिएका थिए।












