विश्लेषकहरु भन्छन्, ‘प्रधानमन्त्रीको सम्बोधन झुटको पुलिन्दा’
काठमाडौं, चैत २६ : प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार गरेको सम्बोधनमा अधिकांश झुट भएको विश्लेषकहरुले टिप्पणी गरेका छन्।
कोरोनासँग जुध्न ....

काठमाडौं, चैत २६ : प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार गरेको सम्बोधनमा अधिकांश झुट भएको विश्लेषकहरुले टिप्पणी गरेका छन्।
कोरोनासँग जुध्न लकडाउन जारी रहँदा स्वास्थ्य सामग्री खरिद प्रकरणले सरकार विवादित बन्न पुगेपछि प्रधानमन्त्रीले सम्बोधन गरेका थिए। तर, प्रधानमन्त्री ओलीले मेडिकल सामग्री खरिदमा मुछिएकालाई कारबाही गर्नेभन्दा पनि उनीहरुको मनोबल बढाउने गरी सम्बोधनमा विषय समेटिएको बताइएको छ।
राजनीतिक विश्लेषक तथा लेखक युग पाठक सरकारले कामभन्दा पनि हल्ला बढी गरेको बताउँछन्। उनले महामारीका वेलामा पनि प्रधानमन्त्री ओलीकै मान्छे भ्रष्टाचारको घिनलाग्दो दलदलमा फसिरहँदा प्रधानमन्त्री स्वयंले भ्रष्टाचार गर्दिन र कसैले गरेको देखे सहन्न भन्ने कुरा गलत सावित गरेको बताए। पाठकले प्रधानमन्त्री ओलीले महामारीसँग लड्नका लागि पूरै तयारी अवस्थामा रहेको जस्तो मन्तब्य दिएता पनि वास्तविकता त्यस्तो नभएको बताए।
‘प्रधानमन्त्रीले आफ्नो कमजोरी लुकाउनका लागि राष्ट्रपतिलाई विज्ञप्ति जारी गर्न लगाएर जे भने सम्बोधन त्यसैको फोटोकपी हो,’ उनले भने, ‘संसारकै धनी मुलुकले पनि गर्न नसकेको हुनाले हामीले गर्न सक्ने कुरै भएन। त्यसकारण हामीले जे गरिरहेका छौँ, गज्जब गरिरहेका छौँ भन्ने देखियो। जुन कुरा सामान्य जनताले दैनिक भोगेको अनुभव र हामीले थाहा पाएका कुरासँग सरासर बाझिन्छ।’
उनले प्रधानमन्त्रीको सम्बोधनमा ३० हजार क्वारेन्टाइनको व्यवस्था गरेको भनेर दाबी गरेको कुरा पनि झुठ भएको बताए।
‘प्रधानमन्त्रीले ३० हजार क्वारेन्टाइनको व्यवस्था गरेको भनेका छन्। यो सरासर झुठ हो। किनभने भारतबाट आएर दार्चुलामा रोकिएका नेपालीहरु एउटै क्वारेन्टाइनमा बसेका छन्। सारबाट के बुझिन्छ भने जसरी त्यहाँ नेपालीहरु कोचाकोच गरेर बसेका छन्। त्यसलाई क्वारेन्टाइन भनिँदैन,’ उनले भने, ‘भूकम्पका वेलामा विदेशीले दिएको त्रिपाल खडा गरेर क्वारेन्टाइन यही हो भनिएको छ। खाली देखिएका भवनमा खाट राखेर तन्ना ओछ्याएर यहीँ हो कोरोना अस्पताल भनिएको छ। त्यो हो भने घरकै खाटमा निलो तन्ना राखे भइहाल्यो नि१ अस्पताल हुनका लागि त न्युनतम सामाग्रीहरु, उपकरणहरु, व्यवस्थापनका साथै जनशक्तिको पनि त आवश्यकता हुन्छ। त्यो देखिँदैन।’
उनले चीनबाट ल्याइएका मेडिकल सामाग्रीमा पनि अनियमितता भएको, तर प्रधानमन्त्रीले सम्बोधनका क्रममा प्रष्ट्याउन नसकेको बताए। उनले भने, ‘चीनबाट हतारहतार गरेर ल्याइएको मेडिकल सामग्रीमा पनि भ्रष्टाचार भएको भनिएको छ। त्यसलाई सरकारले खण्डन गर्ने कोसिस गरेको देखिन्छ, तर ति उपकरणहरु काम नलाग्ने भनेर ठेक्का नै रद्द गरियो। त्यसमा गडबडी छ भन्ने कुरा यसैले पनि पुष्टि गर्छ। यस हिसाबले हेर्दा प्रधानमन्त्री कै दाबी अर्को झुठ हो। किनकि प्रधानमन्त्रीको मन्तव्य पुष्टि हुने कुनै आधार नै छैन।’
अबको दुई हप्ता नेपाललाई चुनौतीपूर्ण हुने बताएका प्रधानमन्त्रीले सम्बोधनमा विश्वभर कोरोनाले निम्त्याएको संकटका बेला सरकारमाथि कुप्रचार भएको आरोप लगाए।
उनले भ्रष्टाचार हुन नदिने र नगर्ने सरकारको प्रतिवद्धतालाई लगातारको कुप्रचारले कमजोर पार्न खोजे पनि सफल नहुने भन्दै बचाउँमा गरे। फेरि प्रधानमन्त्री ओली स्वास्थ्य सामग्री खरिदमा सरकारकै मन्त्रीबाट अनियमितता भएको कुरा सर्वत्र बाहिरिँदा पनि भन्छन, ‘कहीँ कतै भ्रष्टाचार भएको देखिएमा निर्ममतापूर्वक कारबाही गर्न सरकार पछि पर्दैन।’
प्रधानमनत्री ओलीको सम्बोधनलाई राजनीतिक विश्लेषक कृष्ण पाेखरेलले कार्यान्वयन हुनेमा आशंका व्यक्त गरे। उनले कुराभन्दा पनि काम बोल्नुपर्ने बताए।
‘समग्र विषयलाई समेटेर एउटा सरकार प्रमुखले बोल्नुपर्ने सबै कुरा बोलेको देखिन्छ। प्रधानमन्त्रीले अहिलेसम्म भएका काम, प्रगति र अब के गर्नुपर्छ भन्ने विषयलाई समेटेर सम्बोधन गरेको देखिन्छ। तर, प्रधानमन्त्रीले सबै विषयलाई समेटेर बोले पनि त्यो कत्तिको कार्यान्वयन हुन्छ भन्ने कुरा महत्वपूर्ण हुन्छ,’ पाेखरेल भन्छन्,’ गरिब तथा मजदूरलाई राहत दिनु कुरा, उद्योगी व्यवसायीका कुरालगायत पनि सम्बोधनमा समेटिएको छ। सम्बोधनमा अस्पतालमा काम गर्ने कर्मचारीलाई पनि कारोनाविरुद्ध लड्ने योद्धा भनेको पाए, मिडियालाई एकातिर फुर्क्याएको र आलोचना गर्नेलाई सिस्नु हानेको पनि पाइयो। तर, कुराभन्दा पनि काम बोल्छ कि बोल्दैन भन्ने कुरा मुख्य हुन्छ।’
प्रधानमन्त्रीले कारोनाको उपचारका लागि भएको तयारी, जोखिम न्यूनीकरण, मिडिया र सामाजिक सञ्जालमा आएका आलोचनासँगै भ्रष्टाचारका विषयमा बोले पनि निजी अस्पतालका बारेमा भने बोलेनन्। खासगरी अहिले ज्वरो र रुघाखोकीका बिरामीको उपचार गर्न निजी अस्पतालले नमान्दा ज्यान गुमाउनु परिरहेको घटना सार्वजनिक भइरहेका छन्।
नेकपा नेता राम कार्की प्रधानमन्त्रीको सम्बोधन निजी अस्पतालहरुले गरेको असहयोगप्रति मौन रहेको बताउँछन्। उनले यस्तो संकट र महामारीका वेलामा निजी अस्पतालहरु पन्छिन खोजेको र असहयोग गरिहँदा प्रधानमन्त्री नबोलेको बताए।
उनले प्रधानमन्त्रीले मेडिकल सामग्री खरिद गर्दा अनियमितता भएको कुरा बाहिर आउँदा पनि छानविन प्रक्रियालाई तदारुकता नदिएकोमा असन्तुष्टी जनाए। उनले भने, 'भ्रष्टाचार गर्दिन र गर्न पनि दिन्न भन्ने नारा निकै पुरानो हो, तर यस्त्रो अनियमितताको कुरा बाहिर आउँदा पनि छानबिन गर्नतर्फ ध्यान नदिनु आश्चर्यको कुरा हो।’
उनले निजी अस्पतालहरुले यस विपत्तिका वेलामा असहयोग गरेकाले जनस्वास्थ्यालाई केन्द्रमा राखेर निजी अस्पताल राष्ट्रियकरण गर्नुपर्ने बताए।











