जोखिममा पर्ने घरहरुको क्षतीपूर्ति बारे सरकार सकारात्मक छ : मन्त्री दाहाल
उनले सुरुङ मार्गको कार्य सञ्चालन गर्दा चर्किएको घरहरुको सन्दर्भमा प्राविधिक, भूगोल विद्हरुसहितको परामर्श समिति बनाएको भन्दै समितिको प्रतिवेदनलाई आधार बनाएर कामहरु अगाडि बढाई रहेको बताए।
काठमाडौं, साउन १६ : भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले नागढुंगा सुरुङ मार्ग निमार्णको क्रममा जोखिममा पर्ने घरहरुलाई क्षतीपूर्ति दिने बताएका छन्।
बुधबार पूर्वाधार विकास समितिमा भएको नागढुंगा सुरुङ मार्ग र नागढुंगा–मुग्लिङ सडक खण्डबारे भएको छलफलमा उनले जोखिममा पर्ने घरहरुलाई मूल्यांकन गरेर घरको हकमा क्षतीपूर्ति दिने भन्दै जग्गाको विषयमा भने अलि विवाद भइरहेको बताए।
‘जोखिममा पर्ने घरहरूलाई मूल्यांकन गरेर के गर्ने भनेर निष्कर्ष निकालेका छौं। त्यसको क्षतीपूर्ति दिने बारेमा हामी एकदमै सकारात्मक छौं। क्षतीपूर्ति दिनुपर्छ भनेर मानसिकता पनि बनाइसकेको अवस्था छ,’ उनले भने, ‘घरको हकमा क्षतीपूर्ति दिने कुरा भएको छ, तर जग्गाको विषयमा भने अलि विवाद रहेको हुनाले त्यसबारे छलफल गर्दैछौं।’
उनले सुरुङ मार्गको कार्य सञ्चालन गर्दा चर्किएको घरहरुको सन्दर्भमा प्राविधिक, भूगोल विद्हरुसहितको परामर्श समिति बनाएको भन्दै समितिको प्रतिवेदनलाई आधार बनाएर कामहरु अगाडि बढाई रहेको बताए।
पानी सुकेको र सिचाईको व्यवस्थाको सन्दर्भमा सिचाई विभागसँग कुरा गरेर समस्या समाधान गर्ने पनि उनको भनाई छ ।












