कर प्रशासन पारदर्शी भए धेरै राजश्व उठाउन सकिन्छ : सभापति पौडेल
पौडेलले कर प्रशासनलाई व्यवस्थित र पारदर्शी बनाउन सके धेरैभन्दा धेरै राजश्व उठाउन सकिने बताए।काठमाडौं, साउन १५ : नेपाल उद्योग वाणिज्य महासंघ, कर तथा राजश्व समितिका सभापति अम्बिका प्रशाद पौडेलले अडिटरको भाषा कर प्रशासकले बुझ्न नसक्दा बेरुजुको बिकराल अवस्था आउन लागेको बताएका छन्।
मंगलबार भक्तपुरमा आयोजित ‘करदाताका समस्या र सम्भावित समाधान’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै इन्भेष्टर्स फोरमका पूर्वअध्यक्ष समेत रहेका पौडेलले कर प्रशासनलाई व्यवस्थित र पारदर्शी बनाउन सके धेरैभन्दा धेरै राजश्व उठाउन सकिने बताए।
‘कर प्रशासन सुधार हुनु आवश्यक छ। नेपालको कर प्रशासनले कर निर्धारण गर्ने ठाउँमा सुधार गर्नुपर्छ। अडिटरको भाषा कर प्रशासकले केही हदसम्म नबुझेको हो कि? कर प्रशासनलाई साच्चिकै व्यवस्थित र पारदर्शी बनाइ धेरैभन्दा धेरै राजश्व उठाउने हो भने कर प्रशासनमा, कर निर्धारणमा, कर पुनरावलोकनमा कानून र दकर बुझेको चार्टर्ड एकाउन्टेन्ट चाहिन्छ,’ उनले भने, ‘कर लिने र दिनेबीच सन्तुलन कायम हुन नसक्दा बेरुजुको बिकराल अवस्था आउन सक्ने देखिएको छ। कर प्रशासकले पनि अडिटरको भाषा नबुझ्दा झनै बिकराल अवस्था आउन सक्छ।’
कर सम्बन्धी सरकारले बनाउने कानूनहरुमा भएका गल्तिहरुलाई सुधार गर्न फोरमहरुले दिएका सुझावहरुलाई कार्यान्वयन गर्न आवश्यक रहेको उनको भनाइ छ।