निलम्बित मुख्यसचिव अर्यालको बयान सकियो, थुनछेकसम्बन्धी बहस सुरू
अर्यालले विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, न्यायाधीशहरू रामबहादुर थापा र रितेन्द्र थापाको इजलासमा बयान दिएका थिए। अर्यालसँग बिहान ११ बजेदेखि बयान सुरु भएको थियो।
काठमाडौं, साउन १३ : निलम्बित मुख्यसचिव वैकुण्ठ अर्यालविरुद्धको भ्रष्टाचार मुद्दामा विशेष अदालतमा बयान सकिएको छ।
अर्याल आइतबार विशेष अदालतमा हाजिर भएका थि । बयान सकिएपछि अहिले थुनछेक बहश सुरु भएको छ।
अर्यालले विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, न्यायाधीशहरू रामबहादुर थापा र रितेन्द्र थापाको इजलासमा बयान दिएका थिए। अर्यालसँग बिहान ११ बजेदेखि बयान सुरु भएको थियो।
थुनछेकसम्बन्धी बहसपछि पुर्पक्षका लागि थुनामा पठाउने कि धरौटीमा रिहा गर्ने भन्ने बिषयमा विशेष अदालतले निर्णय सुनाउने छ।
अर्यालसहित ११ जना विरुद्ध अख्तियारले गत असार ९ गते भ्रष्टाचार मुद्दा दायर गरेको थियो। अर्यालविरुद्ध सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सचिव हुँदा भएको अन्तःशुल्क स्टिकर छपाइमा भ्रष्टाचार गरेको अभियोग छ।
सञ्चार मन्त्रालयको सचिवका हैसियतमा अर्याल सुरक्षण मुद्रण विकास समितिको अध्यक्ष रहँदा समितिलाई तोकिएको कुनै पनि काम कर्तव्य कानुनी रूपमा पालना नगरेको आरोप अख्तियारले लगाएको छ।
उनीविरुद्ध ३८ करोड ६७ लाख १७ हजार ६४० रुपैयाँ भ्रष्टाचारको बिगो दाबी गरिएको छ।












