डीआईजी मनोज केसीको सरूवामा रास्वपाले उठायो प्रश्न
आइतबार प्रतिनिधिसभामा बोठकमा रास्वपाका सांसद हरि ढकालले प्रधानमन्त्री केपी ओलीले विश्वासको मत लिएको दुई दिनभित्रै केसीको सरुवा किन गरियो भनेर प्रश्न गरे।
काठमाडाैं, साउन १३ : राष्ट्रिय स्वतन्त्र पार्टीले डीआइजी मनोज केसीको सरुवाका सम्बन्धमा प्रश्न उठाएको छ।
आइतबार प्रतिनिधिसभामा बोठकमा रास्वपाका सांसद हरि ढकालले प्रधानमन्त्री केपी ओलीले विश्वासको मत लिएको दुई दिनभित्रै केसीको सरुवा किन गरियो भनेर प्रश्न गरे।
‘एक अब्बल राष्ट्रसेवक कर्मचारी डिआइजी मनोज केसीलाई सरुवा गरियो। उहाँलाई कसरी सरुवा गरियो? त्यो पनि विश्वासको मत लिएको दुई दिनभित्र,’ उनले भने, ‘कुन उद्देश्यले यो सरकार बनेको हो भन्ने तर्क हामीले प्रस्तुत गरेका थियौं। त्यही उद्देश्यका लागि यो गरिएको प्रष्ट भएको छ।’
गत बुधबार गृहमन्त्री स्तरीय निर्णयबाट नेपाल प्रहरीको विशेष ब्यूरोका प्रमुख डीआईजी केसीलाई जिम्मेवारीबाट हटाएको थियो। केसीलाई प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा पठाइएको छ भने प्रतिष्ठानमा रहेका डिआइजी राजन अधिकारीलाई ब्यूरोमा पठाइएको छ।
यस्तै, उनले उनले आफ्नो दललाई नाति समूह भनेर सम्बोधन भएकोमा आपत्ति जनाउँदै आफूहरू ‘अपुताली खाने’ नाति समूह नभएको भन्दै सशक्त प्रतिपक्ष भएको बताए।
‘हामीले जनआवाज सदनमा राख्दा नातिनातिनाको संज्ञा दिइन्छ। हो, हामी नातिनातिना नै हो। डिठ्ठासाहेब, काजीसाहेबहरुको रवैयालाई चुनौती दिने अब्बल पढेलेखेका सक्षम नातिनातिना हौं,’ उनले भने।












