कारागार र बालसुधार गृह सुधार गर्न आवश्यक छ : गृहमन्त्री लेखक
गृहमन्त्री लेखकले सुरक्षा व्यवस्थाको कुरापनि गम्भीर भएर ध्यान दिनुपर्ने जिकिर गरे। उनले सवारी साधनबाट लिएर पुस्तकालयसम्मको कुरामा पनि सरकारलाई ध्यानाकर्षण गरिने बताए।काठमाडौं, साउन १३ : गृहमन्त्री रमेश लेखकले कारागारलगायत गृह मन्त्रालय अन्तरगतका निकायहरुको भौतिक संरचनामा सुधार गर्न आवश्यक रहेको बताएका छन्।
आइतबार सिहदरबारमा बसेको कानुन समितिको बैठकमा बोल्दै गृहमन्त्री लेखकले यस्तो बताएका हुन्।
‘समितिमा उठेका कुरा सबै ठिकै छन्। तर भौतिक संरचनाको कुरा सबै भन्दा राम्रो छ। यसलाई हामीले सुधार गर्नु आवश्यक छ। स्वास्थ्य र सरसफाइको कुरामा पनि सरकारले गम्भीर तरिकाले सोचेको छ,’ उनले भने, ‘भौतिक संरचना जीर्ण छन्, कम छन्, ठाउँ कम छ। बढी संख्यामा कैदिबन्दी राख्नुपर्ने स्थिति छ। त्यही भएर स्वस्थ्य र सरसफाइको समस्या स्वतःउत्पन्न हुने भएकाले त्यसमा काम गर्नुपर्छ।’
गृहमन्त्री लेखकले सुरक्षा व्यवस्थाको कुरापनि गम्भीर भएर ध्यान दिनुपर्ने जिकिर गरे। उनले सवारी साधनबाट लिएर पुस्तकालयसम्मको कुरामा पनि सरकारलाई ध्यानाकर्षण गरिने बताए।
उनले अहिलेको समयमा अपराधका घटनाहरु धेरै बढेको बताए। उनले जबरजस्ती करणी, लागुऔषध तथा कर्तव्य ज्यान मुद्दाको अपराधहरु बढ्दै गएको बताए।
जबरजस्तीकरणी र लागू औषधसम्बन्धी अपराधलाई न्यूनीकरण र नियन्त्रण गर्नेतर्फ सरकारले पर्याप्त ध्यान दिने पनि उनले प्रतिवद्धता जनाए।
समिति बैठकमा गृह मन्त्रालयका सचिव एकनारायण अर्यालले ७२ वटा कारागारमध्ये अहिले १० वटाको स्तरोन्नति भइसकेको बताए। उनले कैदीबन्दीको स्वास्थ्य बीमा पनि अगाडि बढको जानकारी गराए।












