काठमाडौं महानगरले प्रदान गर्ने छात्रवृत्तिका लागि विद्यार्थीको सूची सार्वजनिक
प्रकाशन भएको सूची, साउन ४ गते लिइएको परीक्षाको नतिजामा विषयगत र समूहगत योग्यताक्रम, परीक्षार्थीले अनलाइन आवेदन फाराम भर्दा शिक्षण संस्थाहरुमा गरेको प्राथमिकता क्रमअनुसार आरक्षण र समूहगत रुपमा छुट्याइएको सिट संख्याका आधारमा सूची प्रकाशन गरिएको सहरी योजना आयोगका सदस्य इञ्जिनियर शैलेन्द्र झाले जानकारी दिए।काठमाडौं, साउन १३ : कक्षा ११ को छात्रवृत्तिका लागि लिइएको परीक्षाबाट मनोनयन सूची (म्याचिङ्) लिष्टमा परेका दुई हजार ८५९ जना विद्यार्थीका नाम शनिवार (साउन १२ गते) प्रकाशन भएको छ।
काठमाडौँ महानगरपालिकाले छात्रवृत्ति छनोट समितिको निर्णयअनुसार आज सूची प्रकाशन गरेको हो। यसको विवरण इमेलबाट विद्यालयहरुलाई पठाइसकिएको छ। यस्तै विद्यार्थीहरुलाई एसएमएस पठाइएको छ। विद्यार्थीहरुले प्रवेश पत्र प्राप्त गरेकै विधिबाट आफ्नो शिफारिस सम्बन्धी जानकारी पाउन सक्नेछन्।
प्रकाशन भएको सूची, साउन ४ गते लिइएको परीक्षाको नतिजामा विषयगत र समूहगत योग्यताक्रम, परीक्षार्थीले अनलाइन आवेदन फाराम भर्दा शिक्षण संस्थाहरुमा गरेको प्राथमिकता क्रमअनुसार आरक्षण र समूहगत रुपमा छुट्याइएको सिट संख्याका आधारमा सूची प्रकाशन गरिएको सहरी योजना आयोगका सदस्य इञ्जिनियर शैलेन्द्र झाले जानकारी दिए।
नाम प्रकाशन भएका विद्यार्थीले साउन १५ गतेभित्र भर्ना भइसक्नु पर्नेछ। ‘तोकिएको समयभित्र भर्ना नभए त्यसपछि कुनै पनि प्रकारको दावी विरोध गर्न पाइँदैन,’ छात्रवृत्ति छनोट समितिका संयोजक गोविन्दप्रसाद शर्मा भन्छन्, ‘साउन १५ गतेभित्र भर्ना नभइ रिक्त रहेका सिटसमेतका लागि दोस्रो सूची प्रकाशन हुनेछ।’
विज्ञान विषयमा छात्रवृत्तिका लागि लागि १ हजार ७५७ वटा छात्रवृत्ति कोटा उपलब्ध छ। यसमा ८ हजार ४९७ जनाले आवेदन दिए। परीक्षामा ७ हजार ६६५ जना सहभागी भए। ६ हजार ७२० जना उत्तीर्ण भए। उत्तीर्णमध्ये १ हजार ६३७ जनाको नाम पहिलो सूचीमा प्रकाशन भएको छ।
व्यवस्थापन विषयमा २ हजार ४९३ वटा छात्रवृत्ति कोटा छ। यसका लागि २ हजार ५८१ जना विद्यार्थीले आवेदन दिए। २ हजार ३२८ जनाले परीक्षा दिए। परीक्षार्थीमध्ये १ हजार ३८१ जना उत्तीर्ण भए।
यस विषयका लागि पहिलो म्याचिङ् लिष्टमा १ हजार १४६ जनाको नाम प्रकाशित भएको छ। कानुन विषयमा १३६ वटा छात्रवृत्ति कोटा छ। यस विषयका लागि १५३ जनाको आवेदन परेको थियो। १३२ जनाले परीक्षा दिएकोमा ७३ जना उत्तीर्ण भए। उत्तीर्णमध्ये ५३ जनाको नाम प्रकाशित भएको छ।
मानविकी विषयमा अध्ययनका लागि १७३ वटा छात्रवृत्ति कोटा छ। यसका लागि १३ जनाको आवेदन थियो। आवेदकमध्ये ११ जनाले परीक्षा दिए। यस्तै ८ जना उत्तीर्ण भए।
शिक्षा विषयका लागि ७० वटा छात्रवृत्ति कोटा छ। यसका लागि ३७ जना आवेदकमध्ये ३२ जना परीक्षामा सहभागी भए। १५ जना उत्तीर्ण यस विषयका लागि उत्तीर्ण सबैको नाम प्रकाशित छ।
छात्रवृत्ति कोटामा अध्ययन गर्न चाहने विद्यार्थीहरुलाई आवेदन दिन महानगरपालिकाले असार १५ गते विहान १० बजेबाट अनलाइन आवेदन फाराम खुला गरेको थियो। यस प्रणालीबाट असार २९ गते राती ११ बजेर ५९ मिनेटसम्ममा आवेदन लिइएको थियो।
प्रणालीबाट ११ हजार ८७१ जना विद्यार्थी आवेदन दिएका थिए। जसमध्ये ११ हजार २८१ जनाको आवेदन स्वीकृत भएको थियो। साउन ४ गते ३८ वटा केन्द्रबाट परीक्षा सञ्चालन भएको थियो।