भूकम्पकाे अनुदान रकम माग गर्दै रुकुम कांग्रेस–एमालेले बुझाए प्रधानमन्त्रीलाई संयुक्त ज्ञापनपत्र

काठमाडौं, साउन ११ : प्रधानमन्त्री केपी ओलीसमक्ष रुकुम–पश्चिम र रुकुम–पूर्व जिल्लाका कांग्रेस र एमालेले शुक्रबार संयुक्त ज्ञापनपत्र बुझाएको छ।
जाजरकोट–भूकम्पबाट प्रभावित अधिकांशले अस्थायी आवासका लागि अनुदान रकम अझै पाउन नसकेको भन्दै संयुक्त ज्ञापनपत्र बुझाइएको हो। रुकुम कांग्रेस र एमालेका नेता, सांसदसहित जिल्ला नेतृत्वले प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर ज्ञापनपत्र बुझाएको हो।
ज्ञापनपत्रमा गत कात्तिक १७ गतेको भूकम्पबाट प्रभावितका लागि सरकारले दिने भनेको पहिलो र दोस्रो किस्ताको रकम छिटो उपलब्ध गराउन आग्रह गरिएको छ।
भुकम्पपछिको पुनः निर्माणका लागि राष्ट्रिय पुनः निर्माण प्राधिकरणको आयोजना कार्यालय स्थापना गर्न समेत कांग्रेस–एमालेको माग छ।
एमालेका पोलिब्युरो सदस्य खेममान खड्का, कांग्रेसका राष्ट्रियसभा सदस्य कृष्णबहादुर रोकाय, एमालेका प्रतिनिधिसभा सदस्य चन्द्रबहादुर विश्वकर्मा, कांग्रेसका पूर्व राज्यमन्त्री गोपालजीजंग शाह, मुसिकोट नगरपालिकाका प्रमुख महेन्द्र केसी, रुकुम–पूर्वका एमालेका जिल्ला अध्यक्ष लीलामणि गौतम, प्रदेश सदस्य सरिता बिसी, रुकुम–पश्चिमका कांग्रेस जिल्ला अध्यक्ष प्रेमप्रकाश ओली, एमालेका जिल्ला अध्यक्ष नन्दराम देवकोटासहित बालुवाटार पुगेर ज्ञापनपत्र बुझाएका थिए।












