भारतमा बन्धक २८ जना नेपालीलाई उद्धार गरी स्वदेश फर्काइयो
रोजगारीको प्रलोभनमा पारी दलालमार्फत बेचिएका २८ मजदुरलाई महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको टोलीले उद्धार गरी नेपाल फर्काएको हो।
काठमाडौं, साउन ११ : भारतको श्रीनगरमा बन्धक बनाइएका २८ जना नेपाली मजदुरलाई उद्धार गरी स्वदेश फर्काइएको छ।
रोजगारीको प्रलोभनमा पारी दलालमार्फत बेचिएका २८ मजदुरलाई महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको टोलीले उद्धार गरी नेपाल फर्काएको हो।
प्रधानमन्त्री केपी ओलीले कश्मीरको श्रीनगरमा ५ महिनादेखि बन्धक बनाइएका ती नेपाली मजदुरलाई महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको टोलीले उद्धार गरी नेपाल फर्काएको सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन्।
बन्धक बनाइएकामध्ये सिरहाका २१ जना र धनुषाका ७ जना रहेको जनाइएको छ। उनीहरूलाई आजै जिल्ला मानव बेचबिखन नियन्त्रण समितिको जिम्मा लगाइएको छ। समितिमार्फत सबैलाई आफ्ना घर पठाउने तयारी गरिएको छ।
प्रधानमन्त्री ओलीले उद्धार कार्यको सफलताका लागि सचिव दिनेश भट्टराईसहितको टोलीलाई धन्यवादसमेत दिएका छन्।
प्रकाशित मिति: १३:४० बजे, शुक्रबार, साउन ११, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












