काठमाडौंमा चार जनामा हैजा पुष्टि
हैजा पुष्टि भएका सबै युवा ललितपुरको गोदावरी नगरपालिका–१४ मा स्थिति सुधार केन्द्रका हुन्। उनीहरुमध्ये दुई जना उपचारका क्रममा भागेका छन् भने अन्य दुईजनामध्ये एक जना शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल र अर्को एक जनाको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ।
काठमाडौं, साउन १० : ललितपुरमा चार जनामा हैजाको सङ्क्रमण पुष्टि भएको छ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा हैजा पुष्टि भएको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका इपिडिमियोलोजी तथा महामारी व्यवस्थापन शाखाका प्रमुख डा. मुकेश पौडेलले जानकारी दिए।
हैजा पुष्टि भएका सबै युवा ललितपुरको गोदावरी नगरपालिका–१४ मा स्थिति सुधार केन्द्रका हुन्। उनीहरुमध्ये दुई जना उपचारका क्रममा भागेका छन् भने अन्य दुईजनामध्ये एक जना शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल र अर्को एक जनाको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ।
ललितपुर जनस्वास्थ्य कार्यालयका प्रमुख डा. भुवन पौडेलले सुधार केन्द्रमा रहेका युवामा एक्कासी झाडापखाला देखिएको र परीक्षण गराउँदा हैजा पुष्टि भएको बताए।
उनले झाडापखाला फैलिएको क्षेत्रमा संघ, प्रदेश र स्थानीय तहको सहयोगमा संक्रमण रोकथाम गरिएको जानकारी दिए।
सुधार केन्द्रमा इनारको पानी प्रयोग गरिएको र उक्त पानी दुषित रहेकाले त्यहीँबाटै हैजा फैलिएको उनले बताए।
उनले भागेका दुई जनालाई हैजाको प्रारम्भिक उपचार गरेकाले उनीहरुबाट अन्यमा सर्ने सम्भावना कम भएको बताए।