विमान दुर्घटनाको अध्ययन प्रभावकारी ढंगले अघि बढ्छ : मन्त्री पाण्डे
बिहीबार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा भएको बैठकमा उनले घटनाको निचोड निस्कने हिसाबले अध्ययन गर्ने भन्दै प्राप्त प्रतिवेदनको कार्यान्वयन पनि प्रभावकारी रुपमा गर्ने बताए।
काठमाडौं, साउन १० : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले सौर्य एयरलाइन्सको विमान दुर्घटनाका बारेमा प्रभावकारी कार्यान्वयनको बाटो तय गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
बिहीबार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा भएको बैठकमा उनले घटनाको निचोड निस्कने हिसाबले अध्ययन गर्ने भन्दै प्राप्त प्रतिवेदनको कार्यान्वयन पनि प्रभावकारी रुपमा गर्ने बताए।
‘यस घटनाको बारेमा धेरै प्रश्नहरु उठेको छ। समिति बनाएपनि प्राप्त प्रतिवेदनको कार्यान्वयन सरकारले नगरेको हुनाले यस्तो समस्याहरु आएको भन्ने कुरा छ। यही प्रश्नहरुको सेरोफेरोमा यसपटकको अध्ययनलाई राम्रो तरिकाले निचोडमा पु¥याउने, सत्यको नजिक पुग्ने, घटनाको बारेमा राम्रो छानबिन गर्ने नै छौं,’ उनले भने, ‘त्यसबाट निस्किएको प्रतिवेदनलाई शतप्रतिशत कार्यान्वयन गर्ने दिशामा बाटो तय गर्ने भन्ने प्रतिबद्धता र संकल्प प्रस्तुत गरेका छौं।’
मन्त्री पाण्डेले अध्ययन समितिले ४५ दिनभित्र प्रतिवेदन दिने हिसाबले काम अगाडि बढाउने पनि जानकारी दिए।
‘हिजो भएको सौर्य एयरलाइन्सको विमान दुर्घटनाको प्राविधिक, व्यवस्थापकीय कारण, मानविय त्रुटी के हो त्यसको बारेमा स्पष्ट धारणा राख्न सक्ने अवस्था छैन,’ उनले भने, ‘यसबारेमा अध्यन गर्नको लागि मन्त्रिपरिषद्को बैठकले अध्यन समिति बनाएको छ। ४५ दिनभित्र त्यो समितिले प्रतिवेदन दिनेछ।’












