नेपालको वीरता र सौर्यको इतिहास विश्वमा प्रचार गरौं : राष्ट्रपति
उनले वर्तमान इतिहासको जगमा उभिएको हुन्छ र, त्यही जगमा टेकेर भविष्यतर्फ अगाडि बढ्नु उपयुक्त हुने धारणा व्यक्त गरे।-1721828075.jpg)
काठमाडौं, साउन ९ : राष्ट्रपति रामचन्द्र पौडेलले हाम्रा वीर पूर्खाहरुको साहस, वीरता र सौर्यका कारण नेपाल सधैं स्वतन्त्र राष्ट्र रहेको र यो गौरवपूर्ण इतिहासलाई विश्वमा प्रचार गर्न आग्रह गरेका छन्।
राष्ट्रिय विभूति भीमसेन थापाको २५०औं जन्मजयन्तीको अवसरमा शीतल निवासमा बुधबार आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले सो धारणा व्यक्त गरेका हुन्।
‘भीमसेन थापाको दुःखान्त जीवन सुन्दा नेपालको अभिशप्त इतिहासको पनि झल्को आउँछ। नेपाल आदिकालदेखि दक्षिण एशियामा एकमात्र स्वतन्त्र राष्ट्र रहन सफल मुलुक हो,’ उनले भने, ‘अभिशप्त इतिहास मात्र होइन नेपालको गौरवपूर्ण इतिहासलाई गोलमटोल र लुकाईएको पनि छ, त्यसको सत्यतथ्य यथार्थ रुपमा राखेर विश्वमा प्रचार गर्न आवश्यक छ।’
उनले वर्तमान इतिहासको जगमा उभिएको हुन्छ र, त्यही जगमा टेकेर भविष्यतर्फ अगाडि बढ्नु उपयुक्त हुने धारणा व्यक्त गरे।
‘हाम्रा वीर पूर्खा र अग्रजहरूकै सुझबुझपूर्ण योगदानकै कारण नेपाल एक स्वतन्त्र, सार्वभौम र अखण्ड राष्ट्रका रुपमा पाएका छौं,’ उनले भने।
विभिन्न जातजाति, भाषाभाषी, संस्कृति र परम्परा रहेको हाम्रो देशमा सबै नेपालीबीच आपसी मित्रता, मेलमिलाप र सद्भाव कायम गरी राष्ट्रिय एकतालाई अझ सुदृढ गराउनु आजको आवश्यकता भएको उनको भनाइ थियो।












