नैतिक रुपमा विवादित व्यक्तिनियुक्ति नगर्न आयोगको ध्यानाकर्षण
आयोगले व्यक्ति किटेर नभने पनि निर्वाचन आयुक्तमा सिफारिस कृष्णमान प्रधानको सुनुवाईको मुखमा उक्त विज्ञप्ति जारी गरेको छ।
काठमाडौं, साउन ९ : राष्ट्रिय मानव अधिकार आयोगले संवैधानिक परिषद र राज्यका विभिन्न निकायबाट नैतिक रुपमा विवादित व्यक्ति नियुक्ति नगर्न ध्यानाकर्षण गरेको छ ।
बुधबार एक विज्ञप्ति जारी गर्दै संवैधानिक परिषद र राज्यका जिम्मेवार निकायले फौजदारी लगायत विभिन्न अभियोगमा कारबाही प्रक्रिया चलिरहेको र नैतिक रुपमा विवादित व्यक्तिलाई नियुक्ति तथा नियुक्ति सिफारिस गरेको जानकारी आएको बताउँदै सम्बद्ध निकायको ध्यानाकर्षण गराएको हो।
आयोगले व्यक्ति किटेर नभने पनि निर्वाचन आयुक्तमा सिफारिस कृष्णमान प्रधानको सुनुवाईको मुखमा उक्त विज्ञप्ति जारी गरेको छ। प्रधानविरुद्ध एक महिलालाई जागिरको प्रलोभनमा पारी यौन शोषणको आरोपमा उजुरी छ। प्रधानको बुधबारै संसदीय सुनुवाइ समितिमा सुनुवाइ चलिरहेको छ।
राज्यका निकायमा नियुक्त हुने व्यक्तिहरु सामाजिक रुपमा स्वच्छ छवि भएको, विवाद रहित उच्च नैतिक चरित्र भएको र कानुनी रुपमा फौजदारी अभियोगमा सजाय नभएको हुनुपर्छ भन्ने लोकतन्त्रको आधारभूत मान्यता रहेको भन्दै ध्यानाकर्षण गराएको हो।
आयोगले सर्वोच्च अदालतले समेत पदीय जिम्मेवारी अनुसारको योग्यता र क्षमता वस्तुगत आधारमा यकिन गरेर मात्र योग्यतम व्यक्तिलाई राज्यका निकायमा नियुक्त गर्नुपर्नेे नजीर कायम गरेको विज्ञप्तिमा जनाएको छ।
‘सामाजिक र कानुनी रुपमा विवादित व्यक्तिहरुलाई नियुक्त गर्ने कार्य कानुनी शासनको विपरीत हुने र यसबाट दण्डहीनतालाई प्रश्रय पुग्नुका साथै राज्यका निकायप्रति आम नागरिकको भरोसा समेत टुट्न जान्छ,’ आयोगको विज्ञप्तिमा उल्लेख छ ।












