सुनको औंठी र हातमा आइफोन बोकेर राहतको लाइनमा
भक्तपुर, चैत २५ : लकडाउनको समयमा अति विपन्न एवं ज्याला मजदुरी गरेर दैनिक गुजारा चलाउने व्यक्तिलाई लक्षित गरेर वितरण गरिने राहतको लाइनमा हुनेखानेहरु नै....

भक्तपुर, चैत २५ : लकडाउनको समयमा अति विपन्न एवं ज्याला मजदुरी गरेर दैनिक गुजारा चलाउने व्यक्तिलाई लक्षित गरेर वितरण गरिने राहतको लाइनमा हुनेखानेहरु नै बसेर लिन थालेका छन्। कोरोना भाइरसको संक्रमण फैलन नदिन सरकारले लागू गरेको लकडाउनको समयमा दैनिक मजदुरी गरेर खानुपर्ने मानिस भोकै बस्नु नपरोस् भनेर स्थानीय तहले शुरु गरेको राहत वितरणको लाइनमा करोडौँको सम्पत्ति भएका मानिस पनि बसेपछि वितरणमा सकस पर्न थालेको छ।
मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठका अनुसार हातमा आइफोन बोकेका, औँलामा सुनका औठी र घाँटीमा सिक्री लाउनेहरु लाइनमा बसेर राहत थाप्न थालेपछि सोचेभन्दा दोब्बर बढी राहत वितरण गर्नुपरेको छ। पहिलो चरणमा नगरपालिकाभित्र सात हजार परिवारलाई राहत वितरण गरेको बताउँदै उनले भने, 'हामीले आजदेखि सबै वडामा राहत वितरण सम्पन्न गर्यौँ, तर राहत लिन अधिकांश बाहिर जिल्लाबाट यहाँ आएर भाडामा बस्नेहरु छन्, राहत लिने आधाजति त हुनेखाने नै छन्, हातमा आइफोन लिएर, सुनका सिक्री औँठी लाएकाहरु गरिब, मजदुरलाई दिने राहत थाप्न आएको देखियो।'
भूकम्पको समयमा पीडितको पहिचान गर्न सजिलो भएको थिया तर अहिले मजदुर र गरिबको पहिचान गर्न नसक्दा तीन हजार ५०० घरपरिवारलाई दिने भनेको राहत सात हजार परिवारलाई दिनुपरेको उनले बताए। राहतको लाइनमा सरकारी जागिरेदेखि विदेशमा बस्नेहरुका परिवारसमेत देखियो।
यता सूर्यविनायक नगरपालिकाले वडा नं १ देखि ७ मा राहत वितरण सम्पन्न गरेको छ। नगरपालिकाले अहिलेसम्म चार हजार नागरिकलाई राहत वितरण गरिसकेको छ। वडा नं १ सिरुटारमा राहत वितरणको क्रममा एउटै घरमा १० परिवारसम्म भाडामा बसेका सबै राहत लिन आएको वडाध्यक्ष सानुकाजी कायस्थले बताए। राहत लिन घर भाडामा लाउने घरमालिकदेखि जग्गा जमीन भएकासमेत आएको भन्दै उनले सात सय भन्दा बढीको नाम सङ्कलन भए पनि छनोट गरेर ४४१ परिवारलाई वितरण गरेको जानकारी दिए।
सूर्यविनायक–८ सिपाडोलमा कतिपयले पैसा छ, खानेकुरा किन्न पाएनौँ भन्दै राहत लिन आएकोे पनि उनले बताए।
यता सूर्यविनायककै वडा नं ६ कटुञ्जेमा चारतले पक्की घर हुनेदेखि महिनाको ४५ हजार रुपैयाँ भाडा तिर्ने व्यापारीसमेत राहत लिन आएको वडाध्यक्ष रामेश्वर ध्वजूले बताए। एउटै घरमा ४८ परिवार भाडामा बसेको र सबै राहत लिन आएको साथै एउटै परिवारका श्रीमान् श्रीमतीले नै राहत लिन आएको पनि उनले बताए।
सूर्यविनायक नगरपालिकाका प्रशासकीय प्रमुख कमल ज्ञवालीले सङ्कटको बेलामा हुनेखानेले हुँदाखाने वर्गलाई सहयोग गर्नुपर्ने समयमा हुनेखाने बर्गनै राहत लिन आएको बताए। उनले सूर्यविनायक नगरपालिकाभित्र अन्तिम नामावली छनोटपछि करिब पाँच हजार जनालाई राहत सामग्री वितरण गरिने र राहत लाने सबैको नामावली, राहतको विवरण वेबसाइटबाट सार्वजनिक गरिने जानकारी दिए।
भक्तपुर नगरपालिकाले सोचेभन्दा धेरै मानिस वडामा राहत लिन नाम दर्ता गर्न आएपछि राहत वितरण नै शुरु गरेको छैन। प्रत्येक वडाबाट नामावली सङ्कलन गर्ने क्रममा स्थानीयभन्दा पनि बाहिर जिल्लाबाट आएका र हुनेखानेहरु नै बढी आएपछि छनोट गरेर मात्रै वितरण गर्ने तयारी गरेको छ। नगरपालिका प्रमुख सुनिल प्रजापतिले राहत लिन हुनेखानेहरु धेरै आएपछि यो विकृति रोक्न र वास्तविक मजदुर तथा गरिबलाई छनोट गरेर राहत वितरण गर्ने तयारी गरेको बताए। उनले भूकम्पको बेलामा भन्दा जटिल अवस्था अहिले राहत वितरणमा देखिएको बताउँदै वडावडाबाट सङ्कलित नामको वास्तविक मजदुर र गरिबको पहिचान गरेर मात्रै कार्ड बाँडेर आजबाट राहत वितरण शुरु गर्ने बताए।
त्यस्तै चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रले सरकारले सित्तैमा दिने त हो नि भन्दै आवश्यक नै नभएका हुनेखानेहरु राहत लिने सूचीमा वडाबाट आएको बताए। नामावली सङ्कलनमा घरजग्गा भएका, सरकारी जागिर भएका, विदेशबाट पैसा आउने र सरकारी सुविधा पाउनेसमेत राहत लिन आएको पाइएको बताए। चाँगुनारायण नगरपालिकाले पनि संकलित नामबाट छनोट गरेर वडा तहबाटै राहत वितरण शुरु गरेको छ।रासस










![डा. देवेन्द्रराज पाण्डेको शव पशुपति आर्यघाटमा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1_4e51c4be-1784360418.jpg)
