भ्रष्टाचारमा मुछिएका सत्तापक्ष र प्रतिपक्षका नेतालाई कारबाही होस् : ज्ञानेन्द्र शाही
सांसद शाहीले एनसेल प्रकरण र मेलम्चीलगायतका भ्रष्टाचारका काण्डहरूमा सँगसँगै कराउने दिन आउन सक्ने बताए। उनले अहिलेको सरकारलाई धमाधम काम गर्न र भ्रष्टाचारका काण्डहरू खोलेर प्रकाउ गर्न पनि आग्रह गरे।
काठमाडौं, साउन ८ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले भ्रष्टाचार गरेका सत्तापक्ष र प्रतिपक्ष दुवैलाई कारबाही गर्न सरकारलाई आग्रह गरेका छन्।
मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भ्रष्टाचार गरेका कसैलाई नछोड्न आग्रह गरेका हुन्।
‘विगत दुई तीन दिनदेखि संसदमा हेरिरहेको छु। बडा गज्जबको जात्रा चलिरहेको छ। फाइलका फाइल,घोटालाका घोटाला। यस्तो कुरासम्म हुन आएको छ की संसद होइन कुनै व्ल्याकलेकमेलिङ गर्ने थलो हो,’ उनले भने, ‘उ परपट्टि बसिसकेपछि यतापट्टिकोले दोष लगाउने, परपट्टिका वारी आएपछि यहाँकाले पारिकालाई दोष लगाउने, म अहिले पनि भन्न चाहन्छु तपाईं अहिलेको सरकारमा हुनुहुन्छ, तपाईहरुको दिन नआओस् भुटानी शरणार्थी भनेर कराउने। फेरी दिन नआओस् तपाईंहरूको यहाँ गिरीबन्दु खै भनेर कराउनुपर्ने। ’
सांसद शाहीले एनसेल प्रकरण र मेलम्चीलगायतका भ्रष्टाचारका काण्डहरूमा सँगसँगै कराउने दिन आउन सक्ने बताए। उनले अहिलेको सरकारलाई धमाधम काम गर्न र भ्रष्टाचारका काण्डहरू खोलेर प्रकाउ गर्न पनि आग्रह गरे।
‘यो संसदमा यस्तो जुवारी चल्यो कि तिम्रा फाइल बन्द गर्छाैं । हाम्रा फाइल किन खोल्छौं ? पहिला तिम्रा गर त्यसपछि हाम्रा गर। तपाईंहरू हिजो मिलेको होइन्,’ उनले भने, ‘जनताले रगत पसिना तिरेर बनाएको संसदलाई सामान्य नठानियोस्। त्यसैले चाँहे सत्तापक्ष होस् चाँहे प्रतिपक्ष होस् कारबाही गर्नुस्।’












