कांग्रेसको सृजनशील काम, कोरोना स्व-परीक्षण एप सार्वजनिक
काठमाडौं, चैत २४ : प्रमुख प्रतिपक्षी दल कांग्रेसले कोरोनाभाइरस परीक्षणको लागि कोरोनाको ‘स्व–परिक्षण वेब एप’ सार्वजनिक गरेको छ। ....

काठमाडौं, चैत २४ : प्रमुख प्रतिपक्षी दल कांग्रेसले कोरोनाभाइरस परीक्षणको लागि कोरोनाको ‘स्व–परिक्षण वेब एप’ सार्वजनिक गरेको छ।
सोमबार सार्वजनिक गरेको उक्त एवमा कोरोनाभाइरसको स्व-परीक्षण गर्न सकिन्छ । त्यसका साथै विभिन्न चिकित्सक तथा विज्ञहरुसँग परामर्श गर्न मिल्ने व्यवस्था पनि गरिएको छ । विभिन्न दलहरु कोरोनाभाइरसको लडाईमा विज्ञप्तिमा समित भैरहेक बेला कांग्रेसले सृजनात्मक रुपमा सरकारलाई पनि सहयोग पुगोस् भनेर यस्तो एप सार्वजनिक गरेको कांग्रेस प्रवक्ता एव. सूचना, संचार तथा प्रचार विभागका संयोजक विश्वप्रकाश शर्माले बताए ।
कोरोनाका लागि https://www.nepalicongress.org/covid19/ मा गएर परीक्षण गर्न सकिन्छ ।
वेबसाईट मार्फत जारी वेब एपमा यसको उद्देश्य, चिकित्सकीय परामर्श एवं निर्माण टिम बारे जानकारी राखएिको छ। उक्त एप मार्फत घरमै बसेरपनि कोरोना भाइरस संक्रमणको लक्षण आफूमा रहे र नरहेको परिक्षण जो कसैले पनि गर्न सक्ने छन्। कसैमा कोरोना संकेत देखिए भौतिक परीक्षण र उपचारका लागि प्रेरित गर्ने र नदेखिए मानसिक तनावबाट मुक्तिलाई सघाउने परामर्श सेवा पनि एपमा राखिएको छ।
एपका मुख्य तीन उद्देश्य रहेको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ। 'नागरिक पंक्तिमा कोरोना जोखिम बारेको सचेतना थप अभिवृद्धि गराउने, भौतिक रुपले परीक्षणको दायरा व्यापक हुन नसकेको अहिलेको परिस्थितिमा मनोबैज्ञानिक रुपले ठूलो पंक्तिलाई स्व–परिक्षणमा सघाउने र सतर्कताका लागि जागरुक गराउने र संक्रमणको लक्षण देखिएका नागरिकको पहिचान गर्न बल पुर्याउँदै व्यक्ति, समुदाय र सरकारलाई सघाउने रहेका छन्,' विज्ञप्तिमा भनिएको छ।
एपमा चिकित्सकीय परामर्शका लागि डा. अञ्जनी झा, पूर्व अध्यक्ष, नेपाल मेडिकल एसोसिएसन, डा. बासुदेव पाण्डे, सरुवा रोग विशेषज्ञ, डा. अनिलविक्रम कार्की, उपाध्यक्ष, नेपाल मेडिकल एसोसिएसन, डा अशेष ढुंगाना, फोक्सो रोग विशेषज्ञलाई अनलाईनमा राखिएको छ।
एपको निर्माण इन्जिनियरहरु शशांकश्री न्यौपाने, पूर्व केन्द्रीय सदस्य, सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल र दिपेश बिष्ट, पूर्व महासचिव, सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपालले गरेका हुन् ।











