संवाद र शान्तिपूर्ण मार्गबाट समाधान खोज्न भारत र पाकिस्तानलाई नेपालको आग्रह
काठमाडौं, फागुन १५ : भारत र पाकिस्तानबीच द्वन्द्व बढ्दै जाँदा नेपालले दक्षिण एसियाका यी दुई शक्तिशाली राष्ट्रहरुलाई संवाद र शान्तिपूर्ण माध्यमबाट समस्....

काठमाडौं, फागुन १५ : भारत र पाकिस्तानबीच द्वन्द्व बढ्दै जाँदा नेपालले दक्षिण एसियाका यी दुई शक्तिशाली राष्ट्रहरुलाई संवाद र शान्तिपूर्ण माध्यमबाट समस्याको समाधान खोज्न आग्रह गरेको छ ।
वुधवार परराष्ट्र मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा भारत र पाकिस्तानबीच बढ्दै गइरहेको तनावका कारण नेपाल चिन्तित भएको जनाइएको छ । भारत पाकिस्तान द्वन्द्व समाधानमा नेपालले महत्वपूर्ण भूमिका खेल्न नसकेपनि सार्कको अध्यक्षको हैसियतमा यी दुई मुलुकलाई संयम देखाउन आग्रह गर्दै वक्तव्य जारी गर्ने विषयमा व्यापक छलफल भएको थियो । सामाजिक सञ्जालमा पनि खासगरी नेपालको विदेशनीतिका बारेमा रुचि राख्नेहरुले सार्कको अध्यक्षका हैसियतमा वक्तव्य जारी गर्न उचित हुने सल्लाह दिएका थिए ।
फागुन २ मा भारतको जम्मु काश्मिरमा भएको क्रुर आक्रमणको नेपालले भत्र्सना गरेको विज्ञप्तिमा जनाइएको छ । विज्ञप्तिमा भनिएको छ, ‘सार्कको वर्तमान अध्यक्षको हैसियतमा दक्षिण एसियामा शान्ति र स्थिरता महत्वपूर्ण रहेकाले नेपाल सकेसम्म संयम अपनाउन र शान्ति र सुरक्षालाई चुनौती हुने गतिविधिमा संलग्न नहुन दुवै पक्षलाई आग्रह गर्दछ ।’ संवाद र शान्तिपूर्ण माध्यमबाट समाधान खोज्न, तनाव घटाउन र सम्वन्ध सामान्यीकरण गर्न पनि नेपालले आग्रह गरेको छ ।











