क्रान्तिकारी कम्युनिस्ट पार्टी फेरी फुट्यो
क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका सह–संयोजक रहेका धर्मेन्द्र बाँस्तोलाले मंगलबार एक विज्ञप्ति जारी गर्दै एकता प्रक्रिया असफल भएको घोषणा गरेका हुन्।
काठमाडौं, साउन १ : मोहन वैद्य ‘किरण’ले नेतृत्व गरेको क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल एकता भएको १६ महिनामै विभाजन भएको छ।
२०७९ चैतमा वैद्य नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) र नेकपा बहुमतविच पार्टी एकता भएको थियो।
क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका सह–संयोजक रहेका धर्मेन्द्र बाँस्तोलाले मंगलबार एक विज्ञप्ति जारी गर्दै एकता प्रक्रिया असफल भएको घोषणा गरेका हुन्। यी दुई नेताहरु पहिले एकपल्ट फुटेर फेरी जोडिएका थिए। बाँस्तोलाले फुटको घोषणा गरेपछि मंगलबारदेखि पुनः दुईतिर भएका छन्।
‘एकता आज सफल नभए भोलि सम्भव छ तर, अनावश्यक हुने तिक्तताले आन्दोलनलाई लामो समयसम्म नोक्सान गर्छ । दुई वर्षको अवधिमा एकतालाई सुदृढ गर्न हाम्रो तर्फबाट भएका कैयौँ प्रयत्नहरूका बाबजुद हामी सफल हुन सकेनौँ । अतः समय र विषयको संवेदनशीलतालाई मध्यनजर गरेर आजैका मितिबाट एकता प्रक्रिया असफल भएको घोषणा गर्न बाध्य भएका छौं,’ बाँस्तोलाद्वारा जारी विज्ञप्तिमा भनिएको छ।












