सहकारीलाई व्यवसाय बनाएर दूरुपयोग गरियो : सभापति थापा
‘सहकारी आफैंमा व्यवसाय होइन तर यहाँ सहकारीलाई व्यवसाय बनाएर दूरुपयोग गरियो। यस विषयमा ज्ञान भएका व्यक्तिहरुसँग छलफल भएको छ र सुझावहरु पनि संकलन भएको छ,’ उनले भने।
काठमाडौं, साउन १ : सहकारी छानविन संसदीय समितिका सभापति सूर्यबहादुर थापाले सहकारीको सिद्धान्तमा स्वनियमन भएपनि व्यवहारमा लागू हुन नसकेको बताएका छन्।
मंगलबार बसेको बैठकमा उनले सहकारीहरु नियमन हुन नसकेको हुनाले समस्याहरु देखा परेको बताएका हुन्।
‘मुख्य सहरबजार केन्द्रीत सहकारीमा समस्या आएको देखिन्छ। यसमा पनि वित्तिय कारोबार गर्ने सहकारीमा बढी समस्या देखिएको छ। सहकारीको स्वनियमनको विश्वव्यापी अभ्यास हो,’ उनले भने, ‘स्वनियमन असफल हुँदा समस्याहरु आउने गर्छ। सिद्धान्तमा स्वनियमन भएपनि व्यवहारमा नियमनमा नै समस्या देखिएको छ। यसबारे पनि छलफल भएको छ ।’
उनले सहकारीलाई व्यवसाय बनाएर दूरुपयोग गरिएको हुनाले पनि समस्याहरु आएको बताए।
‘सहकारी आफैंमा व्यवसाय होइन तर यहाँ सहकारीलाई व्यवसाय बनाएर दूरुपयोग गरियो। यस विषयमा ज्ञान भएका व्यक्तिहरुसँग छलफल भएको छ र सुझावहरु पनि संकलन भएको छ,’ उनले भने।
बैठकमा सहकारी क्षेत्रमा आएको समस्यालाई अन्तर्राष्ट्रिय रुपमा कसरी समाधान गरिन्छ भन्ने बारेमा पूर्वमहालेखापरीक्षक तथा पूर्वरजिस्ट्रार टंकमणि शर्मा, सहकारी मन्त्रालयका सचिवद्वय गोपीनाथ मैनाली र डा.दामोदर रेग्मीसँग छलफल भएको थियो।












