पाकिस्तानले भारतको लडाकु विमान खसाल्यो, भारतले पाकिस्तानको : सार्क हताहत
काठमाडौं, फागुन १६ : पुलवामा आक्रमणको प्रतिक्रिया स्वरुप भारतले पाकिस्तानभित्र बमबारी गर्दा कति जेहादी मारिए भन्ने यकिन छैन । दिल्लीले ठूलो संख्यामा आतंककारी मारिएको द....
काठमाडौं, फागुन १६ : पुलवामा आक्रमणको प्रतिक्रिया स्वरुप भारतले पाकिस्तानभित्र बमबारी गर्दा कति जेहादी मारिए भन्ने यकिन छैन । दिल्लीले ठूलो संख्यामा आतंककारी मारिएको दाबी गरेको छ भने इस्लामाबादले एक जनाको पनि रगत नबगेको प्रतिदाबी गरेको छ ।
भारतीय हवाई सेनाले पाकिस्तानी आकाशमा प्रवेश गरी बमबारी गर्दा हताहत हुनेको संख्या यकिन होला नहोला, तर यो घटनामा नेपाल अध्यक्ष रहेको सार्क हताहत भएको भने यकिन भइसकेको छ ।
पृथ्वीको अर्को गोलार्द्धमा रहेको र आफूसँग खासै सरोकार नरहेको देश भेनेजुएलाको राजनीतिक संकटमा समेत अमेरिका नै चिढिने गरी वक्तव्यबाजी गर्ने नेपालले सार्क सदस्य राष्ट्रहरू भारत र पाकिस्तान युद्धको संघारमा पुग्दा समेत केही बोलेको छैन ।
भारतले पाकिस्तानमा बम खसालेको भोलिपल्ट पाकिस्तानले आफ्नो आकाशमा प्रवेश गर्ने दुई विमान खसालेको दाबी गरेको छ । भारतले पनि पाकिस्तानको एउटा लडाकु विमान खसालेको दाबी गरेको छ । तनाव चर्किएर दुबै देश पूर्ण युद्धमा होमिने खतरा बढेको छ ।
दुबै मित्र राष्ट्र रहेकाले एकलाई समर्थन गर्नु त उचित नहोला, तर सार्क अध्यक्षको हैसियतले नेपालले भारत र पाकिस्तानलाई संयम अपनाउन र वार्ताद्वारा समस्याको समाधान खोज्न आग्रह गर्नुपर्ने हो । तर, सार्कमा पर्यवेक्षक मात्रै रहेको चीनले वक्तव्य जारी गरेर शान्तिका लागि आग्रह गरिसक्दा समेत नेपालले दुई आणविक शक्ति सम्पन्न छिमेकी राष्ट्रहरूबीचको सम्भावित युद्धलाई नदेखे–नसुने झै गर्दैछ ।
नेपाल मौन रहनुको अर्थ हो – पहिले कोमामा पुगिसकेको सार्क पछिल्लो भारत–पाकिस्तान तनावका कारण मृत बनिसकेको छ ।
तर, विज्ञहरू सार्कको सान्दर्भिकता अझै नसकिएको र यो क्षेत्रीय संगठन फेरि व्यूँतिन सक्ने सम्भावना देख्छन् । नयाँ दिल्लीस्थित सार्कको साउथ एसियन युनिभर्सिटीको अन्तर्राष्ट्रिय सम्बन्ध विभागमा अध्यापन गराउने उपप्राध्यापक धनञ्जय त्रिपाठी सार्कको उपादेयता सकिइसकेको निष्कर्ष निकाल्न हतार गरेको हुने बताउँछन् ।
दक्षिण एसिया राजनीतिक र आर्थिक रुपमा मात्रै नभई सांस्कृतिक रुपमा पनि एउटै क्षेत्र लाग्ने भएकाले सार्कलाई ब्युँताउनु उपयुक्त हुने त्रिपाठी बताउँछन् । उनी भन्छन्, ‘यस्तो समानता भएका देशहरू क्षेत्रीय सहकार्य गर्न सक्षम छन् । तर, हामी यो संभावनालाई अस्वीकार गरिरहेका छौं ।’
भारत दक्षिण एसियाको सबैभन्दा शक्तिशाली र महत्वपूर्ण स्थानमा रहेको राष्ट्र भएकोले सार्कलाई पुनर्जीवन दिन र सक्रिय बनाउन उसैको सबैभन्दा महत्वपूर्ण भूमिका हुने पनि त्रिपाठी ठान्छन् ।
परराष्ट्र मामिलाका जानकार डा. प्रमोद जयसवाल भारतले सार्कलाई बिम्स्टेकपछि दोस्रो प्राथमिकतामा राखेकोले यो ३० वर्ष पुरानो क्षेत्रीय संगठन सक्रिय हुन नसकेको विश्लेषण गर्छन् । तर, सार्क मृत्युशैयामा पुगेको र यसको सान्दर्भिकता सकिएको जस्ता भनाइसँग भने जयसवाल सहमत छैनन् ।
भारत र पाकिस्तानबीचको अहिलेको बिग्रिएको सम्बन्धका आधारमा मात्रै यी राष्ट्रहरुले सार्कलाई विघटन नगर्ने उनी बताउँछन् । सार्क पुरानो संगठन भएकाले यसलाई विघटन गर्दा त्यसको अपजस लिनुपर्ने डरले पनि भारत र पाकिस्तानले त्यस्तो कदम नचाल्ने जयसवाल ठान्छन् ।
प्राध्यापक लोकराज बराल भने सार्कबाट धेरै आशा राख्न नसकिने बताउँछन् । उनी भन्छन्, ‘कुनै पनि क्षेत्रीय र अन्तर्राष्ट्रिय संगठन सफल हुन त्यसलाई शक्तिराष्ट्रहरुले रुचाएको र सहयोग गरेको हुनुपर्छ ।’
सार्क सफल हुन भारत र पाकिस्तानबीचको सम्बन्धमा सुधार आउनुपर्ने तर त्यस्तो हुने अवस्था नदेखिएको उनको ठम्याइ छ । विगतका केही वर्षमा भारत सार्कबाट निराश भएकाले उसले बरु बिम्स्टेकलाई महत्व दिएको उनी ठान्छन् । सार्क सफल होस् भन्ने दक्षिण एसियाका साना राष्ट्रहरुको चाहना भए पनि भारतले नचाहँदा यो सफल हुन गाह्रो हुने उनी ठान्छन् ।






