नियात्रासंग्रह ‘यात्राको लय’ लोकार्पण
विगतको सशस्त्र द्वन्द्वकालीन नेपाली समाजमा यात्राका क्रममा देखे–भोगेका विद्रुप चित्रदेखि धार्मिक यात्रा र दार्जिलिङसम्मका यात्रा परिवेशलाई निजात्मक शैलीमा पस्किएको छ।काठमाडौं, असार १५ : नियात्राकार एवं समीक्षक प्रदीप सापकोटाको नियात्रासंग्रह ‘यात्राको लय’ लोकार्पण गरिएको छ।
एक कार्यक्रममबीच अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष क्याप्टेन रामेश्वर थापा, नेपाल प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेत, प्रा.डा. लक्ष्मण गौतम, कवि एवं वरिष्ठ मनोचिकित्सक डा. अनन्त अधिकारी, नियात्राकार जय छाङ्छा, समालोचक ज्ञानु अधिकारीलगायतले कृति संयुक्त रूपमा लोकार्पण गरे।
पुस्तक विमोचन गर्दै क्याप्टेन थापाले पुस्तकबारे संक्षेपमा चर्चा गर्दै सापकोटालाई शुभकामना व्यक्त गरेका थिए। कार्यक्रममा समालोचक ज्ञानु अधिकारीले कृति पठनीय भएको र यसमा निजात्मक अनुभूति रहेको उल्लेख गर्दै पाठकलाई आफूसँगै यात्रा गरेको भान पार्न सक्ने क्षमता रहेको बताइन्।
नियात्राकारले कृतिको रचना गर्भबारे आफ्ना अनुभूतिहरू राखेका थिए। विगतको सशस्त्र द्वन्द्वकालीन नेपाली समाजमा यात्राका क्रममा देखे–भोगेका विद्रुप चित्रदेखि धार्मिक यात्रा र दार्जिलिङसम्मका यात्रा परिवेशलाई निजात्मक शैलीमा पस्किएको छ।
नियात्रा तथा समीक्षा लेखनमा सक्रिय सापकोटाका यसअघि ‘यात्राका इन्द्रेणी रंग’ (नियात्रासंग्रह) र ‘मनको वारपार’ (मुक्तकसंग्रह) प्रकाशित छन्।