धुलिखेल पूर्णखोप सुनिश्चित नगर घोषणा
नगरप्रमुख ब्यञ्जुले धुलिखेललाई स्वस्थ नगर घोषणा गर्ने तयारी पनि भइरहेको बताए।काभ्रे, असार १४ : काभ्रेको धुलिखेल नगरपालिकालाई ‘पूर्णखोप सुनिश्चितता दिगोपना’ नगर घोषणा गरिएको छ।
नगर खोप समन्वय समितिका अध्यक्षसमेत रहनुभएका नगरप्रमुख अशोक ब्यञ्जु, उपप्रमुख निराजन जंगम, प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र थापामगर, वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु, शाखा प्रमुखहरु, स्वास्थ्य संस्थाका प्रमुखहरुले बिहीबार एक कार्यक्रमकाबीच धुलिखेल पूर्णखोप सुनिश्चितता दिगोपना नगर घोषणामा हस्ताक्षर गरे।
नगरप्रमुख ब्यञ्जुले धुलिखेललाई स्वस्थ नगर घोषणा गर्ने तयारी पनि भइरहेको बताए।
‘धुलिखेल नगरलाई नेपालकै पहिलो स्वस्थ नगर घोषणाको तयारीमा छौं। त्यसका लागि प्रारम्भिक कार्य सुरु गरिसकेका छौं,’ उनले भने, ‘नगर क्षेत्रमा घरपरिवार सर्वेक्षणमार्फत सबै खालका रोग, समस्या तथा स्वास्थ्य सेवाको आवश्यकताका बारेमा जानकारी लिँदै स्वास्थ्य सेवाको पहुँचमा पु¥याउने गरी अशक्त, अपाङ्गता भएका, गरिब, दलित, सीमान्तकृत तथा ज्येष्ठ नागरिकका हकमा विशेष व्यवस्था गरी स्वस्थ्य नगर घोषणा गर्न लागिएको हो।’
उपप्रमुख निराजन जंगमले स्थानीयवासीको स्वास्थ्य नगरको पहिलो जिम्मेवारी र कर्तव्य भएकाले स्वास्थ्यका कार्यक्रमलाई प्राथमिकतामा राखिएको बताए। उनका अनुसार गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न नगर क्षेत्रका स्वास्थ्य संस्थाको नियमित अनुगमन, नागरिकमैत्री सेवाका लागि समन्वय र सहजीकरण भइरहेको छ।
यस्तै घोषणा कार्यक्रममा ६० वर्ष उमेर पुगेका १९ महिला स्वास्थ्य स्वयंसेविकालाई नगद रु २० हजारसहित बिदाइ गरियो।
१५ स्वास्थ्य केन्द्र, २७ खोप केन्द्रमा गरी नगर क्षेत्रमा ६९ जना स्वयंसेविका कार्यरत छन्। आधा घण्टाभन्दा कम पैदल दूरीमा पर्ने गरी स्वास्थ्य केन्द्र स्थापित गरिएका छन्।