रुसी सेनामा कार्यरत तनहुँका एक युवाको मृत्यु
रुसी सेनामा भर्ना भएका गुरुङकै साथीले उनका परिवारलाई फोन गरेर उनको मृत्यु भएको जानकारी गराएको छिम्केश्वरीस्थित कन्यादेवी माध्यमिक विद्यालयका प्रधानाध्यापक सूर्यमानसिंह गुरुङले जानकारी दिए ।काठमाडौं, असार १३ : अवैधरूपमा रुसी सेनामा भर्ना भएका थप एक नेपाली युवाको मृत्यु भएको छ । सात महिना अगाडि रुसी सेनामा भर्ना भएका तनहुँको आँबुखैरेनी गाउँपालिका–५ स्थिच भोटेश्वाराका रन्जित गुरुङको केही दिन अगाडि मृत्यु भएको हो ।
रुसी सेनामा भर्ना भएका गुरुङकै साथीले उनका परिवारलाई फोन गरेर उनको मृत्यु भएको जानकारी गराएको छिम्केश्वरीस्थित कन्यादेवी माध्यमिक विद्यालयका प्रधानाध्यापक सूर्यमानसिंह गुरुङले जानकारी दिए ।
“सात महिना अगाडि रुसी सेनामा भर्ना भएका गुरुङ १५ दिनदेखि परिवारसँग सम्पर्कविहीन हुनुहुन्थ्यो । त्यसअगाडि भने परिवारसँग कुराकानी भइरहेको थियो,” उनले भने ।
गुरुङका साथीले आफूहरू द्वन्द्वग्रस्त क्षेत्रमा जाँदा उक्त घटना भएको बताएको गुरुङले उल्लेख गरे । “फोन गर्ने व्यक्तिले म पनि घाइते भएको छु भनेर रञ्जितका परिवारलाई जानकारी गराएका छन्,” गुरुङले भने ।
स्थानीय टेकबहादुर गुरुङले घटनाबारे जानकारी पाएपछि गाउँ शोकमा डुबेको बताए । “घटना सुनेदेखि सबै शोकमा हुनुहुन्छ । उनी एकदमै मिलनसार थिए । सोच्नै नसक्ने घटना भएको छ,” उनले भने ।
आँबुखैरेनी गाउँपालिका–५ का वडाध्यक्ष सन्तोष गुरुङले उक्त घटनाले आफूहरूलाई स्तब्ध तुल्याएको बताए । “मेरो वडाले एक होनहार युवा गुमाएको छ,” उनले भने ।
रुसी सेनामा भर्ना भएका तनहुँका नौ जना परिवारको सम्पर्कमा छैनन् । जिल्ला प्रशासन कार्यालय तनहुँमा रहेको आप्रवासी स्रोत केन्द्रका अनुसार जिल्लाका नौ जना युवा रुसी सेनामा भर्ना भएको र आफन्तको सम्पर्कमा नरहेको भन्दै निवेदन परेको छ ।