प्रधानमन्त्री र चिनियाँ उपविदेशमन्त्रीबीच भेट
सोमबार सिंहदरबारमा भएको भेटमा उनीहरूबीच द्विपक्षीय हित, आपसी चासो र सहकार्यका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।-1719234871.jpg)
काठमाडौं, असार १० : नेपाल भ्रणमा रहेका चिनियाँ उपविदेशमन्त्री सुन वेइतोङले प्रधानमन्त्री पुष्पकमल दाहालसँग शिष्टाचार भेट गरेका छन्।
सोमबार सिंहदरबारमा भएको भेटमा उनीहरूबीच द्विपक्षीय हित, आपसी चासो र सहकार्यका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
भेटका क्रममा प्रधानमन्त्री दाहालले नेपालको आर्थिक सामाजिक विकासमा चीनले पु¥याउँदै आएको सहयोगप्रति खुशी व्यक्त गरे।
उनले आगामी दिनमा नेपालले सन् २०२६ मा अति कम विकसित मुलुकबाट स्तरोउन्नती हुने उद्देश्य राखेको उल्लेख गर्दै त्यसलाई सफल तुल्याउनका लागि चीनको सहयोग आवश्यक बताए।
जनवादी गणतन्त्र चीनका उपविदेशमन्त्री सुनले सन् २०२५ मा नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापनाको ७०औं वर्षगाठका अवसरमा नेपालको पर्यटन प्रवर्द्धन र चिनियाँ पर्यटकलाई नेपाल भ्रमण गर्न प्रेरित गर्ने उद्देश्यका साथ चीनले ‘भिजिट नेपाल–२०२५’ मनाउने निर्णय गरेको जानकारी गराए।
उनले नेपालको आर्थिक–सामाजिक विकासमा चीनले निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।
उपविदेशमन्त्री सुन नेपाल–चीन कूटनीतिक परामर्श संयन्त्रको १६औं बैठकमा भाग लिन सोमबार बिहान नेपाल आइपुगेका हुन्।












