सांसद पौडेलको प्रश्न– यो देश सरकारले चलाएको छ कि अन्त कतैबाट चलेको छ?
सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद पौडेलले सदनमा गृहमन्त्री र रक्षामन्त्रीले पदीय मर्यादा विपरीत रहेर अभिव्यक्ति दिएको भन्दै प्रधानमन्त्रीले आफ्नो निर्देशन कसैले मान्दैन भन्नु लज्जाजनक भएको बताए।
काठमाडौं, असार १ : नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले गृहमन्त्री र रक्षामन्त्रीको अभिव्यक्ति पदीय मर्यादा अनुरुप नरहेको भन्दै आपत्ति जनाएका छन्।
सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद पौडेलले सदनमा गृहमन्त्री र रक्षामन्त्रीले पदीय मर्यादा विपरीत रहेर अभिव्यक्ति दिएको भन्दै प्रधानमन्त्रीले आफ्नो निर्देशन कसैले मान्दैन भन्नु लज्जाजनक भएको बताए।
उनले यो देश सरकारले चलाएको छ कि अन्त कतैबाट चलेको छ भन्दै प्रश्न समेत गरे।
‘सदनमा केही दिन अगाडि गृहमन्त्रीले विदेशीलाई सूचना बेच्ने व्यक्ति यही सदनभित्र छ भन्ने अभिव्यक्ति दिनुभयो । हिजो मात्रै रक्षामन्त्रीले प्रश्नहरुको उत्तर दिने क्रममा जे अभिव्यक्ति दिनुभयो त्यो उहाँको पदीय मर्यादा अनुरुप छ भन्ने मलाई लाग्दैन्,’ उलने भने।
उनले सरकारले संसदलाई हेपेको बताए। साथै उनले प्रधानमन्त्रीको निर्देशन मन्त्रीहरुले नमान्नु यो पद्दतिकै लज्जाजनक भएको बताए।
‘प्रधानमन्त्री भन्नुहुन्छ मेरो निर्देशन कसैले मान्दैन। प्रधानमन्त्रीय पद्धतिमा यो भन्दा लज्जाजनक कुरा के हुन सक्छ? यो अराजकता कहिले अन्त्य हुने हो?,’ उनले भने, ‘यो देश सरकारले चलाएको छ कि अन्त कतैबाट चलेको छ ?म जवाफ चाहुन्छ।’