विराटनगर महानगरले ल्यायाे करिब ३ अर्ब ५० करोडकाे बजेट
सोमबार महानगरकी उपप्रमुख शिल्पा कार्कीले नगर सभामा बजेट पेस गरेकी बजेटमा कार्यालय सञ्चालन तथा प्रशासनिक खर्चका लागि ५९ करोड बजेट विनियोजन गरिएको छ।मोरङ, असार १० : विराटनगर महानगरपालिकाले आर्थिक वर्ष २०८१/८२ का लागि ३ अर्ब ४९ करोड ९८ लाख ८६ हजार रुपैयाँ बराबरको बजेट ल्याएको छ।
सोमबार महानगरकी उपप्रमुख शिल्पा कार्कीले नगर सभामा बजेट पेस गरेकी बजेटमा कार्यालय सञ्चालन तथा प्रशासनिक खर्चका लागि ५९ करोड बजेट विनियोजन गरिएको छ।
ऋणको सावा ब्याज भुक्तानीमा ५ करोड, चालु आवको चालु खर्च तर्फको दायित्व भुक्तानीमा ३ करोड ३४ लाख ८३ हजार, समपूरक कार्यक्रममा ६ करोड १० लाख, वडास्तरीय योजनातर्फ ४३ करोड ३ लाख १२ हजार बजेट विनियोजन गरिएको कार्कीले जानकारी दिइन्।
यसैगरी कार्कीले पेस गरिएको बजेटमा बहुवर्षीय गौरवका आयोजना एवं दायित्व सरिआएका योजनाहरूको भुक्तानीका लागि ५० करोड, बस्ती विकास र तराइ मधेस समृद्धि कार्यक्रम तर्फ ५ करोड ६० लाख, मर्मत सम्भार तर्फका लागि १० करोड तथा भारी सवारी साधन खरिदका लागि रु २ करोड बजेट विनियोजन गरिएको छ।
यस्तै, सामाजिक विकास क्षेत्र अन्तर्गत शैक्षिक विकास कार्यक्रम तर्फ ७८ करोड ७८ लाख १ हजार, स्वास्थ्य विकास कार्यक्रम तर्फ रु २० करोड ५७ लाख ९३ हजार, महिला लक्षित कार्यक्रम तर्फ ९९ लाख ५७ हजार, संघ संस्थातर्फ २ करोड ७० लाख बजेट विनियोजन गरिएको भएको छ।
बजेतमा आदिवासी जनजाति, दलित, मधेशी, तथा यौनिक तथा अल्पसङ्ख्यक तर्फ ६२ लाख ८६ हजार, बालबालिका लक्षित कार्यक्रम तर्फ ७० लाख ८० हजार, युवा विकास कार्यक्रम तर्फ ९५ लाख ८४ हजार, खेलकुद विकास कार्यक्रमका लागि १ करोड ८ लाख, रोजगार प्रवद्र्धन कार्यक्रमतर्फ ७० लाख ४६ हजार बजेट विनियोजन गरिएको छ।
यस्तैगरी ज्येष्ठ नागरिकतर्फ ९ लाख ९५ हजार, अपाङ्गता क्षमता विकास कार्यक्रम तर्फ २८ लाख ८ हजार विनियोजन गरिएको छ। आर्थिक विकास क्षेत्र अन्तर्गत कृषि विकास तर्फ १ करोड ३ लाख, पशुपंक्षी तथा भेटनरी तर्फ १ करोड ५३ लाख ९७ हजार, सहकारी तर्फ २४ लाख, उद्यमशील विकास तर्फ ९० लाख, उपभोक्ता हित संरक्षणका लागि ८ लाख ५० हजार, पर्यटन प्रवद्र्धनका लागि रु १ करोड ९४ लाख विनियोजन गरिएको छ।
वन वातावरण तथा विपद् व्यवस्थापन क्षेत्र अन्तर्गत विपद् व्यवस्थापन तर्फ रु १ करोड २० लाख, वन वातावरण तथा जैविक विविधता तर्फ ३५ लाख ५० हजार तथा सरसफाइ कार्यक्रम तर्फ १ करोड ३० लाख विनियोजन गरिएको छ।
सुशासन तथा संस्थागत विकास क्षेत्र अन्तर्गत राजस्व सुदृढीकरण तर्फ ३० लाख, नगर प्रहरी तथा ट्राफिक व्यवस्थापनका लागि ४० लाख, सहरी विकास तर्फ ९० लाख, सूचना तथा सञ्चारका लागि ६० लाख, सूचना तथा प्रविधि तर्फ ८० लाख, सुशासन तथा सेवा प्रवाहका लागि १ करोड ८ लाख ४५ हजार, कानुन तथा न्यायतर्फ ७२ लाख ५० हजार, फोहोर पानी प्रशोधन केन्द्र तर्फ २ करोड ९५ लाख, भू उपयोग आवास तथा बस्ती विकास कार्यक्रम तर्फ ८५ लाख ४९ हजार बजेट विनियोजन भएको छ।
महानगरपालिकाले गत आर्थिक वर्ष २०८/१मा ३ अर्ब ३६ करोड १७ लाख २५ हजार ६ सय २६ रुपैयाँ बराबरको बजेट ल्याएको थियो ।