छाउगोठ भत्काएर मात्र यो कुरीति अन्त्य हुँदैन, अभियान चलाऔं : सांसद डा. राणा
‘खाली छाउगोठ भत्काउने मात्र होइन, प्रचार–प्रसार र जनचेतना जगाउने क्याम्पेन गर्नुपर्छ। विद्यालयदेखि नै महिनावारी सचेतनाबारे अभियान चलाउन जरुरी छ,’ सांसद डा. राणाले भनिन्।
काठमडौं, असार ९ : प्रतिनिधिसभा सदस्य डा. आरजु राणा देउवाले छाउगोठ बस्ने कुरीतिविरुद्ध व्यापक अभियान चलाउन माग गरेकी छिन्।
आइतबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले छाउगोठ भत्काएर मात्र यो कुरीति अन्त्य नहुने बताइन्।
‘आठ वर्षअगाडि यसै सदनमा उभिएर छाउगोठमा सर्पले टोकेर ज्यान गुमाउनुपरेको एकजना छोरीको बारेमा बोलेकी थिएँ। अहिले फेरि ३ असारमा अछाममा एक छोरीलाई छाउगोठमा बलात्कार गरियो,’ उनले भनिन्, ‘२१औँ शताब्दीमा अझै पनि यस्ता घटना हुनु निन्दनीय छ। सरकारले ०७५ देखि ०७८ सम्म सात हजार पाँच सय ४५ वटा छाउगोठ भत्काए पनि यो कुरीति अझै चलिरहेको छ।’
उनले यो कुरीतिविरुद्ध सरकारले नै व्यापक अभियान चलाउनुपर्ने बताइन्। ‘खाली छाउगोठ भत्काउने मात्र होइन, प्रचार–प्रसार र जनचेतना जगाउने क्याम्पेन गर्नुपर्छ। विद्यालयदेखि नै महिनावारी सचेतनाबारे अभियान चलाउन जरुरी छ,’ सांसद डा. राणाले भनिन्।












