रास्वपा र गृहमन्त्रीमा नैतिकताको खडेरी : महामन्त्री शर्मा
छानविनका लागि आफूविरुद्ध संसदीय विशेष समिति बन्दासमेत पदबाट राजीनामा नदिएका कारण नैतिकताको खडेरी देखिएको टिप्पणी शर्माको थियो।
काठमाडौं, असार ७ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका महामन्त्री एवम् सांसद विश्वप्रकाश शर्माले गृहमन्त्री रवि लामिछानेमा नैतिकताको खडेरी परेको बताएका छन्।
नेपाल महिला संघले काडमाडौंमा आयोजना गरेको कार्यक्रममा बिहीबार आफ्नो मन्तव्यका क्रममा महामन्त्री शर्माले यस्तो भनाई राखेका हुन्।
छानविनका लागि आफूविरुद्ध संसदीय विशेष समिति बन्दासमेत पदबाट राजीनामा नदिएका कारण नैतिकताको खडेरी देखिएको टिप्पणी शर्माको थियो।
‘हामी जान्दछौँ नयाँ दलको डिक्सनरी (शब्दकोश) मा प्रश्न र आवेग छ। केही गरौँला भन्ने ऊर्जा पनि छ। तर आवेग र आक्रोश भएजस्तै नैतिकता छ कि छैन?,’ कार्यक्रममा शर्माले भने।
शर्माले विगतमा संसदीय छानबिन समिति बन्दा तत्कालीन अर्थमन्त्री डा.रामशरण महत, जनार्दन शर्माहरुले राजीनामा दिएको प्रसङ्ग पनि सुनाए।
तर अहिले भने समिति बन्दा गृहमन्त्री लामिछानेले राजीनामा नदिएको शर्माको टिप्पणी थियो। शर्माले लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कै नैतिकतामा प्रश्न उठाएका थिए।












