तीनवटै अन्तर्राष्ट्रिय विमानस्थल संचालनको तयारी
प्रधानमन्त्री दाहालले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल दिगो सञ्चालनका सम्बन्धमा सरोकारवालाहरूसँग छलफल र समन्वयगरी तदारूकताकासाथ कार्य गरिरहेको बताए।-1718869358.jpeg)
काठमाडौं, असार ६ : प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले पोखरा, गौतमबुद्धलगायत तीनवटै अन्तर्राष्ट्रिय विमानस्थल संचालनको लागि समन्वयन गरिहेको बताएका छन्।
प्रतिनिधिसभाको विहीबारको बैठकमा सांसदहरूले सोधेका प्रश्नहरूको जवाफ दिँदै प्रधानमन्त्री दाहालले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल दिगो सञ्चालनका सम्बन्धमा सरोकारवालाहरूसँग छलफल र समन्वयगरी तदारूकताकासाथ कार्य गरिरहेको बताए।
‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थल लगायत तीनवटै अन्तर्राष्ट्रिय विमानस्थलहरू दिगो रूपमा सञ्चालन गर्न सार्वजनिक निजी साझेदारीमा सञ्चालन र निर्माण सम्बन्धमा सुझाव पेश गर्न कार्य समिति गठन भएको छ,’ प्रधानमन्त्रीले भने, ‘समितिको प्रतिवेदन तथा सिफारिस प्राप्त भएपछि अन्तर्राष्ट्रिय विमानस्थलहरू सार्वजनिक निजी साझेदारी वा अन्य उपयुक्त सञ्चालनको विधि तयगरी कार्यान्वयनमा ल्याइने छ।’
दाहालले वायु सेवा प्रदायकले पोखरा विमानस्थलबाट सेवा सञ्चालन गर्नका लागि विभिन्न छुटहरू तथा सहुलीयतहरू माग गरेको हुँदा सो विषयमा समन्वय भइरहेको जानकारी गराए।
प्रधानमन्त्री दाहालले निर्माण व्यवसायीलाई उपलब्ध गराउनुपर्ने भुक्तानीमा कुनै समस्या नरहेको जिकिर गरे । प्रधानमन्त्रीले पुष्पलाल मध्यपहाडी लोकमार्गको केही खण्डमा रेखाकंन विवादले निर्माण कार्य अगाडि बढ्न नसकेको भए पनि भुक्तानीका कारण नभएको प्रस्ट्याए।











