पर्साका तत्कालीन मालपोत अधिकृत मिश्रसहित तीन जनालाई ८ वर्ष कैद
विशेष अदालतका अध्यक्ष टेकनारायण कुंवर, सदस्य तेजनारायण सिंह राई र रामबहादुर थापाको इजलासले बुधबार उक्त सजाय तोकेको हो । उनीहरुविरुद्ध राजस्व हिनामिनाको अभियोग थियो।
काठमाडौं, असार ५ : विशेष अदालतले भ्रष्टाचार अभियोगमा मालपोत कार्यालय, पर्साका तत्कालीन मालपोत अधिकृत हरिनारायण मिश्रसहित तीन जनालाई जनही ८ वर्ष कैद सजाय तोकेको छ।
विशेष अदालतका अध्यक्ष टेकनारायण कुंवर, सदस्य तेजनारायण सिंह राई र रामबहादुर थापाको इजलासले बुधबार उक्त सजाय तोकेको हो । उनीहरुविरुद्ध राजस्व हिनामिनाको अभियोग थियो।
अदालतले मिश्रलाई ८ वर्ष कैद, २ करोड ५० लाख २३ हजार ना सय ८१ रुपैयाँ जरिवाना र एक करोड २५ लाख ११ हजार नौ सय ९० रुपैयाँ बिगो असुलको सजाय ठहर गरेको छ। अदालतले उनीहरुलाई गत जेठ २८ गते दोषी ठहर गर्दै सजाय निर्धारणका लागि बुधबारको पेशी तय गरेको थियो।
यस्तै मालपोत कार्यालयका तत्कालीन अधिकृत भूपबहादुर बोगटीलाई पनि ८ वर्ष कैद र मिश्रलाई बराबर नै बिगो तथा जरीवाना भराउने फैसला भएको छ ।
अधिकृत कमोद तिवारीलाई पनि ८ वर्ष कैदसहित मिश्र र बोगटीलाई जति नै विगो भराउन फैसला भएको छ। थप तीन जनालाई पनि विशेष अदालतले दोषी ठहर गर्दै सजाय निर्धारण गरेको छ।
तत्कालीन मालपोत अधिकृत गोपाल ढुंगानालाई ४ वर्ष कैद, ७० लाख ९१ हजार ९ सय रुपैयाँ जरिवाना र ३५ लाख ४५ हजार नौ सय ५० रुपैयाँ बिगो असुल गर्ने फैसला भएको छ।
यस्तै, तत्कालीन अधिकृत पदमप्रसाद अर्याललाई २ वर्ष कैद, ३३ लाख ६३ हजार दुई सय रुपैयाँ जरिवाना र १६ लाख ८१ हजार ६ सय रुपैयाँ बिगो भराउन सजाय तोकिएको छ।











