सामाजिक सुरक्षाभत्ता दुरुपयोग गरेको भन्दै ज्येष्ठ नागरिकद्वारा अख्तियारमा उजुरी
सोही वडाकी ७६ वर्षीया बिष्णुलक्ष्मी खरेलले आ.व. २०७६/०७७ साउन महिनादेखि नियमति रुपमा पाउँदै आएको वृद्धभत्ता आव २०८० साउनदेखि नपाएपछि अख्तियार समक्ष भ्रष्टाचारमा कारवाहीको माग गरिएको छ।काठमाडौं, असार ५ : काभ्रेको भुम्लु गाउँपालिका अन्तगर्त ७ नं. वडा कार्यालयले ज्येष्ठ नागरिक वापतको सामाजिक सुरक्षाभत्ता आफूखुसी दुरुपयोग गरी भ्रष्टाचारजन्य कार्य गरेको दाबीसहित छानविनको माग राखेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता भएको छ ।
छानविन र कारवाहीका लागि भन्दै भूम्लु, ७ फलाँटेका वडाअध्यक्ष रमेश खरेल र वडासचिव राम प्रसाद बडाललगायतविरुद्ध उजुरी परेको हो।
सोही वडाकी ७६ वर्षीया बिष्णुलक्ष्मी खरेलले आ.व. २०७६/०७७ साउन महिनादेखि नियमति रुपमा पाउँदै आएको वृद्धभत्ता आव २०८० साउनदेखि नपाएपछि अख्तियार समक्ष भ्रष्टाचारमा कारवाहीको माग गरिएको छ।
ज्येष्ठ नागरिक खरेलले आर्थिक वर्ष सकिन लाग्दा समेत रोकिएको वृद्धभत्ता रकम नपाएको गुनासो अख्तियार समक्ष गरेकी छन्।
यस बिषयमा वडामा कुरा गर्दा एकमुष्ट आउने भन्दै अल्मल्याएर उपलब्ध गराउनेतर्फ कुनै पहल नभएपछि बाध्य भएर अख्तियारमा उजुरी दिएको भनाई सामाजिक सुरक्षा भत्ताबाट बञ्चित खरेलको छ । उजुरी २०८१ जेठ २५ गतेको मितिमा दर्ता भएको छ।
सी–०७७३२६ दर्ता नम्वर रहेको उक्त उजुरीमा २०८० साउन महिनामा वृद्धभत्ता नविकरणका लागि श्रीमती बिष्णुलक्ष्मी र उनका पतिको कार्ड, फोटो र आवश्यक कागजातहरु एकैसाथ वडाअध्यक्षलाई बुझाए पनि विना आधार र कारण वृद्धभत्ता उपलब्ध नगराएको जनाइएको छ।
यस्तै, वडाअध्यक्ष र वडासचिवले नियतवश नाम कटाई वृद्धभत्ता रकम दुरुपयोग गरी आर्थिक हिनामिना गरेको, आफ्नो जिम्मेवारी निर्वाह नगरी वृद्धाअवस्थामा पुगेको व्यक्तिलाई मानसिक यातना र असामाजिक व्यवहार गरेको उजुरीमा उल्लेख छ।