सुदूरपश्चिममा डेङ्गु सङ्क्रमित बढ्दै
निर्देशनालयको तथ्यांकअनुसार अछाममा २६, कञ्चनपुरमा २४, बाजुरामा १५, दार्चुलामा १०, कैलालीमा नौ, बझाङमा चार, डडेल्धुरामा तीन र बैतडीमा दुईजनामा सङ्क्रमण देखिएको छ।कञ्चनपुर, असार ५ : लामखुट्टेको टोकाइबाट लाग्ने डेंगुको सङ्क्रमण सुदूरपश्चिमका पहाडी जिल्लामा बढ्दै गएको छ। तराईका जिल्लामा अधिकांश देखिने मलेरिया, डेंगुलगायत रोगको सङ्क्रमण पछिल्लो समय पहाडी जिल्लामा पनि बढ्दै गएको देखिएको छ।
सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका भेक्टर कन्ट्रोल अधिकृत हेमराज जोशीले पहाडी जिल्लामा लामखुट्टे बढेसँगै पछिल्लो समय डेंगुको सङ्क्रमण पनि बढ्दै गएको बताए।
उनका अनुसार गत माघ यता सुदूरपश्चिममा एक सय ४० जनामा डेंगुको सङ्क्रमण देखिएको छ। सबैभन्दा बढी डोटी जिल्लामा ४७ जना सङ्क्रमित फेला परेका उनले जानकारी दिए।
निर्देशनालयको तथ्यांकअनुसार अछाममा २६, कञ्चनपुरमा २४, बाजुरामा १५, दार्चुलामा १०, कैलालीमा नौ, बझाङमा चार, डडेल्धुरामा तीन र बैतडीमा दुईजनामा सङ्क्रमण देखिएको छ।
डेंगु नियन्त्रणका लागि सुदूरपश्चिम प्रदेश सरकारले किट र औषधि व्यवस्थापन, चिकित्सकसहित स्वास्थ्यकर्मीको क्षमता विकास एवं प्रशिक्षणका साथै यहाँका अस्पतालहरुमा सङ्क्रमति बिरामीका लागि छुट्टै वार्ड र शय्याको व्यवस्थापन गरेको निर्देशनालयका भेक्टर कन्ट्रोल अधिकृत जोशीले जानकारी दिए।
स्थानीय तहले लामखुट्टेको लार्भा भएका ठाउँको पहिचान गरी ‘खोप र नष्ट गर’ सञ्चालन गरिरहेका उनको भनाइ छ।
निर्देशनालयका अनुसार सन् २०२३ मा सुदूरपश्चिममा एक हजार एक सय ९४ जनामा डेंगु सङ्क्रमण देखिनाका साथै चार जनाको मृत्यु भएको थियो