Kathmandu Press

प्रदेशले घटाए बजेट, कसको कति?

प्रदेश सरकारहरुले यसपटक बजेट घटाएर ल्याएका छन् । बारम्बार सरकार फेरिने, मध्यावधि समीक्षामा बजेट पुनरावलोक गरेर घटाउनुपर्ने संघजस्तै समस्या प्रदेशहरुमा पनि छ।
प्रदेशले घटाए बजेट, कसको कति?

काठमाडौं, असार १ : प्रदेश सरकारहरुले असार १ मा आगामी आर्थिक वर्षका लागि बजेट ल्याउने परम्पराअनुसार शनिबार आआफ्ना प्रदेश सभामा बजेट प्रस्तुत गरेका छन्।

बागमती र मधेशबाहेक पाँच प्रदेश सरकारले आगामी आव २०८१/८२ का लागि बजेट ल्याएका छन्। प्रदेश सरकारहरुले यसपटक बजेट घटाएर ल्याएका छन् । बारम्बार सरकार फेरिने, मध्यावधि समीक्षामा बजेट पुनरावलोक गरेर घटाउनुपर्ने संघजस्तै समस्या प्रदेशहरुमा पनि छ।

कोशी प्रदेश सरकारले आगामी आव २०८१/८२ का लागि ३५ अर्ब २७ करोडको बजेट ल्याएको छ। आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरले विराटनगरस्थित प्रदेश सभामा प्रस्तुत गरेको बजेट चालु आर्थिक वर्षको तुलनामा  एक अर्ब कम छ।

Hardik ivf

चालु आवमा कोशीको बजेट ३६ अर्ब ७४ करोडको थियो। प्रदेश सरकारले आवका लाथि चालुतर्फ १४ अर्ब ४७ करोड ३० लाख र पुँजीगततर्फ १६ अर्ब २० करोड र वित्तीय व्यवस्थातर्फ ४ अर्ब ५८ करोडको बजेट विनियोजन गरेको छ।

गण्डकी प्रदेश सरकारले आव २०८१/८२ का लागि ३२ अर्ब ९६ करोड ८५ लाख रुपैयाँको बजेट ल्याएको छ। चालु आवको भन्दा ८५ करोडले कम बजेट ल्याइएको हो। आर्थिक वर्ष २०८०/८१ को बजेट ३३ अर्ब ८२ करोड रुपैयाँको थियो।

आर्थिक मामिला मन्त्री टकराज गुरूङले पोखरास्थित प्रदेशसभामा प्रस्तुत गरेको बजेटमा चालुतर्फ १३ अर्ब १६ करोड अर्थात ३९ प्रतिशत र पुँजीगततर्फ ६० प्रतिशत अर्थात १९ अर्ब ५१ करोड करोड बजेट विनियोजन गरिएको छ।

लुम्बिनी सरकारले आव २०८१/८२ का लागि ३८ अर्ब ९७ करोड रुपैयाँको बजेट ल्याएको छ। बजेटको यो आकार चालु वर्षको तुलनामा डेढ अर्बले कम हो। चालु आर्थिक वर्ष २०८०/८१ का लागि लुम्बिनीमा ४० अर्ब ४७ करोड ९७ लाख बराबरको बजेट थियो।

आर्थिक मामिलामन्त्री चेतनारायण शर्माले चालुतर्फ ११ अर्ब २४ करोड २७ लाख रुपैयाँ र पुँजीगतर्फ २४ अर्ब ५८ करोड रुपैयाँ विनियोजन गरेका छन् भने वित्तीय हस्तान्तरणका लागि ३ अर्ब १४ करोड रुपैयाँ विनियोजन गरेका छन्।

कर्णाली सरकारले आव २०८१/८२ का लागि ३१ अर्ब ४१ करोड ४१ हजार रुपैयाँको बजेट ल्याएको छ। सुर्खेतस्थित प्रदेशसभामा आर्थिक मामिला तथा योजना मन्त्री महेन्द्र केसीले बजेट प्रस्तुत गर्दै पुँजीगततर्फ कुल बजेटको ५९.७ प्रतिशत अर्थात १८ अर्ब ७५ करोड ८ लाख ६८ हजार रुपैयाँ विनियोजन गरिएको जानकारी गराए।

सुदूरपश्चिम प्रदेश सरकारले आव २०८१/८२ का लागि ३१ अर्ब ६२ करोड ९८ लाख २८ हजारको बजेट ल्याएको छ । प्रदेशको बजेट यसपटक बढेर आएको छ । चालु आर्थिक वर्षका लागि बजेट २९ अर्ब २६ करोड रुपैयाँ बराबरको ल्याइएको थियो।

आर्थिक मामिला मन्त्री सुरेन्द्रबहादुर पालले शनिबार प्रदेश सभाको बैठकमा बजेट प्रस्तुत गर्दै चालु खर्चतर्फ ११ अर्ब ७ करोड १९ लाख ६३ हजार र पुँजीगततर्फ १७ अर्ब ५३ करोड ८ लाख ५५ हजार बजेट विनियोजन गरेको जानकारी गराए।

प्रकाशित मिति: १९:३५ बजे, शनिबार, असार १, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्