‘नेताहरुले श्रम गर्न छोडे, चन्दाको पछि दौडे’
कम्युनिष्ट नेताहरुमा आफ्नो क्षमाता प्रदर्शन गरेर अर्थ निर्माणमा ध्यान नदिने प्रवृति हावी हुँदै गएको उनको भनाइ छ।
काठमाडौं, असार १ : नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव) ले कम्युनिष्ट पार्टीहरुको उदय श्रमिककै बलमा आएको भएपनि नेतृत्व तहमा पुगेका नेताहरुले श्रम गर्न छोडेको टिप्पणी गरेका छन्।
शनिबार ‘कृषिमा लगानी र एकीकृत स्वामित्व प्रणाली’ विषयक अन्तरसंवाद कार्यक्रममा बोल्दै महासचिव चन्दले नेतृत्व तहमा पुगेपछि श्रम गर्न छोडेर नेताहरु चन्दाकै पछि दौडेको आरोप लगाए।
‘कम्युनिष्ट पार्टीको उदय अथवा समाजवाद श्रमिककै बलमा आयो। तर मालिक भएपछि नेतृत्वले श्रमिक बन्न छोडेको देख्यौं। मालिक मात्र बन्ने चेतनाले शोषण मात्रै गर्यो,’ ‘कम्युनिष्ट पार्टीमा नेता बन्दै गएपछि श्रम नगर्ने देखिँदै आएको छ । मास्टर डिग्री गरेको छ तर, १० हजार रुपैयाँका लागि चन्दा माग्दै धाउने गरेका छन् । यो एउटा परम्परा बन्दै गएको देखिएको छ।’
कम्युनिष्ट नेताहरुमा आफ्नो क्षमाता प्रदर्शन गरेर अर्थ निर्माणमा ध्यान नदिने प्रवृति हावी हुँदै गएको उनको भनाइ छ।
कम्युनिष्ट पार्टीलाई श्रमिकहरुको पार्टीमा बदल्नुपर्छ भनेर अभियान चलाएर आफू अघि बढेको चन्दले उल्लेख गरे।











