कस्मिरको सीमाक्षेत्रमा भारत-पाक सेनाको बमबारी
काठमाडौं, फागुन १५ : जम्मु–कस्मिरको भारत र पाकिस्तानको सीमा क्षेत्रमा दुवै देशका सेनाको तर्फबाट बमबारी भएको छ । मंगलबार बिहान भातरीय वायु सेनाले....
काठमाडौं, फागुन १५ : जम्मु–कस्मिरको भारत र पाकिस्तानको सीमा क्षेत्रमा दुवै देशका सेनाको तर्फबाट बमबारी भएको छ । मंगलबार बिहान भातरीय वायु सेनाले लडाकु विमानबाट पाकिस्तानको क्षेत्रमा आक्रमण गरेपछि दुवै देशका तर्फबाट बमबारी भएको हो ।
भारत तथा पाकिस्तानका सञ्चारमाध्यमका अनुसार, मंगलबार साँझ र राति कस्मिरको सीमा क्षेत्रमा दुवै तर्फबाट बिस्फोटन गरिएको हो । पाकिस्तानी सेनाले सीमा क्षेत्रमा करिब ५० ठाउँमा बमबारी गरेको फस्टपोस्टले जनाएको छ । भारतीय सेनालाई उद्धृत गर्दै केही ठाउँमा फायरिङ समेत गरिएको समाचारमा उल्लेख छ ।
बुधबार बिहान पनि सो क्षेत्रमा बमबारी भएको छ । दुवै देशका तर्फबाट भइरहेको बमबारीमा कोही हातहात नभएको जनाएको छ ।
बरु बुधबार बिहान भारतीय सेनाले गरेको कारवाहीमा दुई जना जैस–ए–मोहम्मदका लडाकु मारिएको जनाएको छ । जम्मु–कस्मिरको शोपियाँ जिल्लामा मुठभेड भएको जनाएको छ ।
भारतीय सेनाको वायु सेनाले मंगलबार बिहान ३ः३० बजे सीमा क्षेत्रको तीन ठाउँमा १२–मिराज २००० लडाकु विमानबाट बम आक्रमण गरेको थियो । भारतीय सेनाले तीन सय जैस–ए–मोहम्मदका लडाकु मारेको दावी गरेको थियो ।
तर, पाकिस्तिानी सेनाका प्रवक्ता मेजर जनरल आसिफ गफूरले पत्रकार सम्मेलन गरि एउटा पनि जैस–ए–मोहम्मद लडाकु नमारिएको जनाएका छन् । उनले पत्रकार सम्मेलनमा भनेका छन, “एक जना पनि मारिएको छैन् । उनीहरुले नागरिक क्षेत्रमा बम खसाल्न खोजेको थियो । तयारी अवस्थामा रहेको पाकिस्तानी सेनाले खसाल्न नदिएको र जंगल क्षेत्रमा बम खसालेर भारतीय सेना फर्किएको छ ।”
उनले भारतलाई ‘बेबकुफ दुस्मन’ भनेका छन् । “बेबकुफ दोस्तभन्दा अकलमन्द दुस्मन राम्रो हुन्छ,” पत्रकार सम्मेलनमा पाकिस्तानी सेनाका प्रवक्ताले भनेका छन, “हाम्रो दुर्भाग्य, भारत दुस्मनीमा पनि बेबकुफ र झुटको सहरा लिन्छ ।”
उनले भारतलाई जवाफ दिने बताएका छन् । बुधबार बस्ने राष्ट्रिय सुरक्षा परिषदको बैठकपछि जवाफ दिने जनाएका छन् ।
जैस–ए–अहम्मदले पनि भारतीय सेनाको आक्रमणमा कोही नमारिएको जनाएको छ । भारतीय सेनाले सो क्षेत्रमा यूसुफ अजहर रहेको जनाएको थियो । तर, जैस–ए–अहम्मदले बीबीसीलाई दिएको जानकारीमा यूसुफ अजहर त्यहाँ नरहेको दाबी गरेको छ ।
यूसुफ जैस–ए–मोहम्मदका संस्थापक मौलाना मसुद अजहरका ज्वाँइ हुन् । उनले मौलानाकी कान्छी बहिनीसँग बिहे गरेका थिए । ४० वर्षीय यूसुफ गौरी भाइका नामले पनि चर्चित छन् । वामपन्थी विचारधाराका उनी जैस–ए–मोहम्मदका सक्रिय सदस्य पनि हुन् ।
भारतीय वायु सेनाले आक्रमण गरेको क्षेत्रमा कुनै पनि तालीम केन्द्र नरहेको जैस–ए–मोहम्मदको दावी छ । भातरीय सेनाले तीन सय लडाकु मारिएको दावी गरिरहेका बेला एउटा पनि शव देखाउँन चुनौति दिएको छ ।
भारत नियन्त्रित कस्मिरमा १४ फेब्रुअरीमा आत्मघाती आक्रमण भएको थियो । पुलवामा भएको आक्रमणमा ४० सैनिक मारिएका थिए । त्यसपछि भारतले सो क्षेत्रमा कडाइ शुरु गरेको थियो । भारतले त्यसको बद्लामा मंगलबार आक्रमण गरेको जनाएको छ ।
अझै पनि कस्मिरको सीमा क्षेत्रमा तनाव यथावत छ । भारतीय र पाकिस्तानी सेना तयारी अवस्थामा राखिएका छन् ।






