कमल थापा नेतृत्वको राप्रपा नेपालले आन्दोलन गर्ने
उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रभावहीन भएको भन्दै आयोगको सट्टा जनताप्रति उत्तरदाही रहने सर्वाधिकार सम्पन्न भ्रष्टाचार नियन्त्रण नागरिक आयोग गठन गर्नुपर्ने पनि बताए।काठमाडौं, जेठ ३२ : राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले भ्रष्ट व्यवस्थाबाट जनतालाई मुक्ति दिनका लागि जनआन्दोलन गर्ने बताएका छन्। उनले आगामी फागुनदेखि आन्दोलन गर्नेगरी तयारी गरेको जानकारी दिए।
शुक्रबार केन्द्रीय कार्य समितिको बैठकको निर्णय सार्वजनिक गर्दै उनले संघीय गणतन्त्र नेपाल र धर्म निरिपेक्ष असफल भइसकेको दावी गरे। हालको व्यवस्थाबाट जनतालाई मुक्त गराउनको लागि राप्रपा नेपालले सशक्त जनआन्दोलन आह्वान गरेको जानकारी दिए।
‘अहिले भ्रष्ट व्यवस्थाबाट परिवर्तन होइन्, सुधार गर्न पनि तयार छैन्। अहिले संघीयता र धर्म निरिपेक्षसहितको गणतन्त्र असफल भइसकेको छ। हालको व्यवस्था भ्रष्ट र तस्करीमा रुपान्तरण भएको छ,’ उनले भने, ‘यस्तो व्यवस्थाबाट जनतालाई मुक्त गराउनको लागि राप्रपा नेपालले सशक्त जनआन्दोलन आह्वान गरेको छ। आगामी फागुन–चैत्रदेखि भ्रष्ट व्यवस्थाबाट मुक्तिका लागि निर्णायक जनआन्दोलन गर्ने निर्णय गरेको छ।’
उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रभावहीन भएको भन्दै आयोगको सट्टा जनताप्रति उत्तरदाही रहने सर्वाधिकार सम्पन्न भ्रष्टाचार नियन्त्रण नागरिक आयोग गठन गर्नुपर्ने पनि बताए।
भ्रष्टाचारले देशको आर्थिक अवस्था कमजोर बनाएपनि वर्तमान संरचना र कानूनबाट भ्रष्टाचार प्रभावकारी तरिकाबाट नियन्त्रण हुन नसक्ने भन्दै कानूनमा आमूल सुधार पनि महत्वपूर्ण मागको रुपमा रहेको उनको भनाइ छ।