पार्टी छाडेका नेता कार्यकर्तालाई कांग्रेसमा फर्किन नेता कोइरालाको आग्रह
नेता कोइराला शुक्रबार र शनिबार पार्टीका विभिन्न कार्यक्रममा सहभागी धनुषा पुगेका हुन्। कोइरालाले पार्टीका निष्क्रिय कार्यकर्तालाई कांग्रेसमा सक्रिय हुन समेत आग्रह गरेका छन्।
जनकपुरधाम, जेठ ३२ : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले मधेस प्रदेशमा पार्टी छाडेका नेताकार्यकर्तालाई कांग्रेसमा फर्किन आग्रह गरेका छन्।
शुक्रबार जनकपुरधाम पुगेको नेता कोइरालाले पत्रकारसँग कुरा गर्दै उक्त आग्रह गरेका हुन्। नेता कोइराला शुक्रबार र शनिबार पार्टीका विभिन्न कार्यक्रममा सहभागी धनुषा पुगेका हुन्। कोइरालाले पार्टीका निष्क्रिय कार्यकर्तालाई कांग्रेसमा सक्रिय हुन समेत आग्रह गरेका छन्।
‘रुष्ट भएर बाहिर बस्नु भएको छ या निष्क्रिय हुनु भएको छ या अन्य पार्टीमा हुनुहुन्छ । उहाँहरूलाई म विनम्र आग्रह गर्न चाहन्छु, नेपाली कांग्रेसमा फर्किनुहोस्,’ विमानास्थलमा पत्रकारसँग कुरा गर्दै कोइरालाले भने, ‘नेपाली कांग्रेसलाई बलियो बनाउनुहोस्। लोकतन्त्रलाई बलियो बनाउन नेपाली कांग्रेसको हात मजबुद बनाएर अगाडि बढ्नुपर्छ।’
मुलुकको आर्थिक, सामाजिक तथा लोकतन्त्रको संस्थागत विकासमा सबै एकजुट भएर अगाडि बढ्नुपर्ने पनि कोइरालाले बताए। राजनीतिक अस्थिरताका कारण देशको संवृद्धि र विकासमा समस्या आएको बताउँदै कोइरालाले यस्का लागि राजनीतिक स्थिरता आवश्यक रहेको पनि बताए।
‘यो चुनाव प्रणालीले गर्दा कुनै पनि दलको बहुमत आउँदैन्। बहुमत नआउँदा ३२ सिट ल्याएको माओवादीको अहिले सरकार छ । त्यसमा एमालेसहितका दलहरू सहभागी छन्,’ उलने भने, ‘देशको संवृद्धि र विकासमा समस्या आएकाले राजनीतिक स्थिरता आवश्यक छ।’












