‘जनप्रतिनिधि र पार्टीबीचको सम्बन्ध सुमधुर हुन आवश्यक छ’
‘पार्टी विधानमै निर्वाचित जनप्रतिनिधि र सोही तहका पार्टी प्रतिनिधिबीच महिनामा एक पटक बैठक बस्ने र पार्टी र जनताको निर्देशन अनुसार जनप्रतिनिधि प्रस्तुत हुने भन्नेछ,’ उनले भने।
सुर्खेत, जेठ ३१ : नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले जनप्रतिनिधि र पार्टीबीचको सम्बन्ध सुमधुर हुन आवश्यक रहेको बताएका छन्।
नेपाली कांग्रेस दैलेखको दोस्रो जिल्ला सम्मेलनको उद्घाटन गर्दै उनले पार्टीको चुनाव चिन्ह लिएर निर्वाचित भएका तीनै तहका जनप्रतिनिधि पार्टी र आफूलाई चुनाव जिताउने आम कार्यकर्ता र मतदाताप्रति उत्तरदायी नहुँदा समस्या आएको बताए।
‘पार्टी विधानमै निर्वाचित जनप्रतिनिधि र सोही तहका पार्टी प्रतिनिधिबीच महिनामा एक पटक बैठक बस्ने र पार्टी र जनताको निर्देशन अनुसार जनप्रतिनिधि प्रस्तुत हुने भन्नेछ,’ उनले भने।
उाले प्रतिकुल अवस्थामा कांग्रेसलाई बचाएर राखेका पार्टी कार्यकर्तालाई सुध्रिन जरुरी रहेको बताए। उनले अहिले मुलुकमा अप्ठ्यारो परिस्थिति सृजना भएको भन्दै उक्त परिस्थितिबाट देशलाई निकास दिन कांग्रेस अगाडि बढ्न आवश्यक रहेको उल्लेख गरे।
उपसभापति खड्काले पार्टीको महासमिति बैठकमा प्रस्तुत दस्तावेजहरूमा महासमिति सदस्यहरूले दिएका सुझावलाई दस्तावेजीकरण गर्ने तयारी भइरहेको बताउँदै चाँडै बस्ने केन्द्रीय समिति बैठकले पारित गर्ने बताए।
कांग्रेस मिसन–२०८४ तर्फ केन्द्रित नरहेको उल्लेख गर्दै उनले कांग्रेस अहिले मिसन–२०८१ मै रहेको बताए। ‘देशको समृद्धि र विकास कांग्रेसको मूल मिसन हो, त्यही भएर २०८१, २०८२ र २०८३ मा देश विकासका लागि के गर्ने, पार्टीलाई आम जनतासम्म कसरी पु¥याउने भन्नेमा हामी छौं,’ उनले भने, ‘यति गरेपछि २०८४ मा कांग्रेस एक्लै चुनाव लडेर तीनै तहमा बहुमत ल्याउँछ।’












