राष्ट्रपति पौडेलसँग महानिर्देशक हुंग्बोको शिष्टाचार भेट
उनले अन्तर्राष्ट्रिय श्रम संगठनलाई नेपालको मर्यादित तथा उत्पादनमूलक श्रम र श्रमका क्षेत्रमा सुधारका लागि निरन्तर पुर्याएको सहयोग तथा सहकार्यकोसमेत स्मरण गरेका थिए।
काठमाडौं, जेठ ३१ : राष्ट्रपति रामचन्द्र पौडेलसँग अन्तर्राष्ट्रिय श्रम संगठनका महानिर्देशक गिलबर्ट एफ हुंग्बोले शिष्टाचार भेट गरेका छन्।
स्वीट्जरल्याण्डको जेनेभामा भएको ११२औं अन्तर्राष्ट्रिय श्रम सम्मेलनको उच्चस्तरीय सत्रमा आयोजना गरिएको सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धनको उद्घाटन सत्रमा मुख्य वक्ताका रुपमा सहभागी हुन पुगेका राष्ट्रपति पौडेल र अन्तर्राष्ट्रिय श्रम संगठनका महानिर्देशक हुंग्बोबीच जेनेभामा भेटवार्ता भएको हो।
सो अवसरमा राष्ट्रपति पौडेलले महानिर्देशक हुंग्बोलाई सम्मेलनको मुख्य वक्ताका रुपमा आमन्त्रण गरेकाेमा आभार प्रकट गर्दै अन्तर्राष्ट्रिय श्रम संगठनले मर्यादित काम तथा श्रमको अधिकार सुनिश्चित गर्ने तथा सामाजिक संवाद र सामाजिक सरंक्षणका क्षेत्रमा गरेको कार्यको प्रशंसा गरेका थिए।
उनले आप्रवासी कामदारहरूको न्यूनतम तलब, सामाजिक सुरक्षासहित उनीहरूको सुविधा सुनिश्चित गर्न र श्रम गन्तव्य भएका मुलुकलाई जिम्मेवार बनाउन आइएलओले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेकाे राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए।
‘बढ़्दो आप्रवासी कामदारका सन्दर्भमा न्यूनतम तलब, सामाजिक सुरक्षालगायतका सुविधासहित सुरक्षित, व्यवस्थित र मर्यादित श्रमको सुनिश्चितता गर्नुपरेको छ,’ पौडेलको भनाइ उद्धृत गर्दै पोखरेलले भने, ‘विशेषगरी श्रम गन्तव्य भएका मुलुकमा कार्यगत श्रमिकका आधारभूत अधिकार सुनिश्चित गर्न र उनीहरूलाई जिम्मेवार बनाउन आइएलओले मह्त्वपूर्ण भूमिका खेल्नेछ भन्ने मैले विश्वास लिएको छु।’
उनले अन्तर्राष्ट्रिय श्रम संगठनलाई नेपालको मर्यादित तथा उत्पादनमूलक श्रम र श्रमका क्षेत्रमा सुधारका लागि निरन्तर पु¥याएको सहयोग तथा सहकार्यकोसमेत स्मरण गरेका थिए। राष्ट्रपति पौडेलले नेपालले सामाजिक न्यायलाई विकासको केन्द्रबिन्दुमा राखेर कार्य गरिरहेको स्पष्ट पारेका थिए।
राष्ट्रपति पौडेलले नेपालले उत्पादकत्व र श्रमिकको जीवनस्तर सुधार गर्न कानुनी मानक, मापदण्डको नीति तय गरेको जानकारी दिए। उनले श्रमिक परीक्षण प्रणाली सुरू गरेको र यसले उद्योग तथा श्रमिक दुवैलाई कानुन पालना गराउन सहज हुने बताएका थिए।
यता, महानिर्देशक हुंग्बोले कार्यक्रमका लागि समय दिएको राष्ट्रपति पौडेललप्रति आभार व्यक्त गर्दै पौडेलको राजनीतिक जीवन र सामाजिक न्यायप्रतिको आस्थाको प्रशंसा गरेका थिए।
हुंग्बोले रोजगारी सृजना, सामाजिक सुरक्षा तथा अन्तर्राष्ट्रियस्तरको जीवनस्तरका लागि आइएलओले मर्यादित काम (डिसेन्ट वर्क)का लागि काम गरिरहेको पनि जानकारी गराएका थिए।












