जनताका आधारभूत समस्या समाधान नगरी समृद्धि आउँदैन : पूर्वराष्ट्रपति भण्डारी
मुलुकमा उपलब्ध स्रोत रसाधनको उपयोग गर्न सके परनिर्भर हुनुनपर्ने उनको तर्क थियो। त्यस्तै, पूर्वराष्ट्रपति भण्डारीले मिडिया जनता र सरकारबीचको पुल बन्नुपर्ने बताइन्।
काठमाडौं, जेठ ३१ : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जनतालाई ‘सुखी नेपाली, समृद्ध नेपाल’को नारा सार्थक पार्नका लागि सरकारले आधारभूत समस्याहरु समाधान गर्नतर्फ लाग्नुपर्ने बताएकी छन्।
काठमाडौंमा बिहीबार आयोजित ‘२१औं शताब्दीमा जलवायु परिवर्तन र प्रेस’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले संस्कृति र सम्पदाको संरक्षण गर्दै सरकारले आत्मनिर्भरको खोजी गर्नुपर्ने बताइन्।
‘यदी हामी नेपाली जनतालाई सुखी देख्न चाहन्छौं भने आम नागरिकका न्यूनतम आवश्यकता पुरा गर्न जरुरी छ। सबैलाई खुसी पार्न त सकिँदैन। तर, आम रुपमा आधारभूत समस्या समाधान गर्न तर्फ जानुपर्छ। आत्मनिर्भर बन्नका लागि हामीसँग स्रोतको कमी छ जस्तो मलाई लाग्दैन,’ उनले भनिन्, ‘हामीसँग प्रकृति छ, सांस्कृतिक सम्पदाहरु छन्, यी संस्कृति र प्राकृतिक सम्पदाहरुलाई जगेर्ना गर्दै समृद्धिको खोजी गर्नुपर्दछ।’
मुलुकमा उपलब्ध स्रोत रसाधनको उपयोग गर्न सके परनिर्भर हुनुनपर्ने उनको तर्क थियो। त्यस्तै, पूर्वराष्ट्रपति भण्डारीले मिडिया जनता र सरकारबीचको पुल बन्नुपर्ने बताइन्।
सबैले आफूलाई विनाबर्दीको राष्ट्रको पहरेदार सम्झिनुपर्ने उनको भनाइ थियो।
‘मिडिया र प्रेस जनता र सरकारको पुल बन्नुपर्छ, पहरेदार हुनुपर्दछ। हामी विनाबर्दीका राष्ट्रका पहरेदार हौं भन्ने कुरा सम्झिनुपर्यो। मिडिया भइसकेपछि त सरकारको कानमा बाजा बजाउनु पर्यो नि होइन?,’ उनले भनिन्।












