घुस मुद्दामा लुम्बिनी विकास कोषका तत्कालिन इञ्जिनियर भट्टराईलाई ६ वर्ष जेल
विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्यहरु तेजनारायण सिंह राई र रितेन्द्र थापाको इजलासले भट्टराईलाई उक्त सजाय तोकेको हो।
काठमाडौं, जेठ ३१ : लुम्बिनी विकास कोषका तत्कालिन इञ्जिनियर सरोज भट्टराईलाई घुस खिाएको अभियोगमा विशेष अदालतले ६ वर्ष कैद हुने फैसला गरेको छ।
विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्यहरु तेजनारायण सिंह राई र रितेन्द्र थापाको इजलासले भट्टराईलाई उक्त सजाय तोकेको हो।
भट्टराई कोषका योजना प्रमुख समेत थिए । अदालतले उनीबाट ८० लाख बिगो असुल्नुपर्ने ठहर समेत गरेको छ। कोषसँग सम्बन्धित ठेक्काको काम पाएको ठेकेदारसँग घुस लिएको अभियोगमा अख्तियारले उनीविरुद्ध २५ चैत, २०८० मा भ्रष्टाचार मुद्दा दायर गरेको थियो।
अख्तियारले घुस बापतको रकमले आमा जनक नन्दनी भट्टराईको नाममा भक्तपुरको गुण्डुमा २ रोपनी ९ आना अनि २ आना जग्गा खरिद गरेको दाबी गरेको थियो। अख्तियारको छानविनकाक्रममा जग्गा बेच्ने जग्गाधनीको खातामा ठेकेदारले ८० लाख रुपैंया राखिदिएको र उक्त रकमले भट्टराईले आमाको नाममा जग्गा खरिद गरेको तथ्य खुलेको थियो।
८० लाख घुस बापतको रकम राखिदिने ठेकेदारले लुम्बिनी विकास कोषबाट विभिन्न निर्माणसम्बन्धी काम पाएको समेत अख्तियारको अनुसन्धानले देखाएको छ।
घुसबापतको रकम ठेकेदारबाट तिराएको भन्दै अख्तियारमा उजुरी परेको थियो । अदालतले विगो जफत गरी ६ बर्ष जेल सजाय तोकेको हो।












