सरकारमा बसेर काम गर्न नसके बाहिरिन्छौं : सभापति लामिछाने
‘यो तीन महिना सरकारमा बसेर हामीले के राम्रो गर्यौं मलाई थाहा छैन। तर, केही पनि नराम्रो गर्नु भनेको सबैभन्दा राम्रो गर्नु हो, देशमा,’ उनले भने, ‘म छाती ठोकेर भन्न सक्छु तीन महिना सरकारमा बसेर मेरो दलका मन्त्रीहरुले एउटा पनि नराम्रो काम गरेका छैनन् । कति राम्रो काम गरिन्छ त्यो हेर्दै जाने कुरा हुन्।’-1718188317.jpg)
काठमाडौं, जेठ ३० : गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफू र दलका मन्त्रीहरुले तीन महिना सरकारमा बसेर कुनैपनि नराम्रो काम नगरेको ठोकुवा गरेका छन्।
बुधबार काठमाडौंमा नेपाल समाजवादी पार्टी (नेसपा)को स्थापना दिवसमा उनले सरकारमा आफ्नो दल काम गर्नकै लागि गएको उल्लेख गर्दै काम गर्न सक्ने वातावरण नबने सरकारमा बसिरहनुपर्ने आवश्यकता नरहेको बताए।
‘यो तीन महिना सरकारमा बसेर हामीले के राम्रो गर्यौं मलाई थाहा छैन। तर, केही पनि नराम्रो गर्नु भनेको सबैभन्दा राम्रो गर्नु हो, देशमा,’ उनले भने, ‘म छाती ठोकेर भन्न सक्छु तीन महिना सरकारमा बसेर मेरो दलका मन्त्रीहरुले एउटा पनि नराम्रो काम गरेका छैनन् । कति राम्रो काम गरिन्छ त्यो हेर्दै जाने कुरा हुन्।’
डा. बाबुराम भट्टराईको राजनीतिक हुटहुटीको सम्मान गर्न कार्यक्रममा सहभागी भएको बताएका लामिछानेले आफ्नो समयमा डा. भट्टराईले आफ्नो पद् र जिम्मेवारीमा सकेजति काम गर्ने व्यक्तिको उदारहण भएको बताए।
वितगमा माओवादीले व्यवस्था बदल्न गरेको परिवर्तनको नेतृत्व गर्दा भट्टराई र प्रचण्डको नियत के थियो भन्ने नजाने पनि उनीहरु दुईको एक आदेशमा देशका लागि ज्यानको बली दिने योद्धाको सम्मानका लागि पनि व्यवस्थालाई बलियो बनाउन लागेको चर्चा लामिछानेले गरे।
उनले प्रदेश नेताहरुलाई तह लगाएर राख्ने पार्किङस्थल जस्तो भएको उल्लेख गर्दै त्यसमा सुधार गर्दै जानुपर्नेमा जोड दिए।
उनले व्यवस्थाभित्र तागत भएको तर इमान्दारिपूर्वक काम गर्ने दलको प्रतिबद्धतालाई भुल्न नहुने धारणा राखे। लामिछानेले काम गर्न सक्दासम्म सरकारमा बस्ने र नसक्दा निस्कने प्रष्ट पारे।
‘सकेको काम गर्नकै लागि हामी सरकारमा सहभागी छौं। नसक्दा या अनावश्यक कसैको भारी बोक्न पर्यो भने त्यहाँ बसिरहनुपर्ने केही आवश्यकता छैन,’ उनले भने।












