राष्ट्रपति पाैडेल जेनेभा प्रस्थान
राष्ट्रपति पौडेलले अन्तर्राष्ट्रिय श्रम सम्मेलनको ११२ औँ सत्रमा हुने ‘सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धन’को उद्घाटन समारोहमा संवोधन गर्ने कार्यक्रम छ।-1718114844.jpg)
काठमाडौं, जेठ २९ : राष्ट्रपति रामचन्द्र पौडेल अन्तर्राष्ट्रिय श्रम सम्मेलनको ११२ औँ सत्रमा भाग लिन स्वीट्जरल्यान्डको जेनेभा प्रस्थान गरेका छन्।
राष्ट्रपति पौडेलले अन्तर्राष्ट्रिय श्रम सम्मेलनको ११२ औँ सत्रमा हुने ‘सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धन’को उद्घाटन समारोहमा संवोधन गर्ने कार्यक्रम छ।
पौडेलले श्रम सम्मेलन अन्तर्गत हुने सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धनको उद्घाटन सत्रलाई बिहीबार सम्बोधन गर्ने जनाइएको छ। त्यसपछि ३० जेठमा स्वीट्जरल्यान्डका राष्ट्रपति भायोला एमहेर्डसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ।
जेनेभाबाट राष्ट्रपति पौडेल १ असारमा बर्लिन जाने कार्यक्रम छ। जर्मनीका राष्ट्रपति फ्रयाङ्क वाल्टर स्टिनमियरको निमन्त्रणमा पौडेल बर्लिन जाने भएका हुन्।
पौडेल र स्टिनमियरविच आगामी ३ असारमा द्विपक्षीय भेटवार्ता हुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
भ्रमण दलमा राष्ट्रपति पौडेलकी श्रीमती सविता पौडेल, राष्ट्रपतिका परराष्ट्र विज्ञ डा.सुरेशचन्द्र चालिसे, राष्ट्रपति कार्यालयका सचिव र परराष्ट्र मन्त्रालयका उच्च अधिकारीहरू सहभागी छन्।
राष्ट्रपति पौडेल ५ असारमा स्वदेश फर्किने कार्यक्रम छ।