वर्तमान सत्ता गठबन्धन पूरा कार्यकाल जान्छः प्रधानमन्त्री
प्रधानमन्त्री दाहालले एमाले अध्यक्ष केपी ओलीले पार्टी कार्यक्रममा व्यक्त गरेका कतिपय विचारका कारण सत्ता गठबन्धनमा कुनै असर नगर्ने बताए।(2)-1718030349.jpeg)
काठमाडौं, जेठ २८ : प्रधानमन्त्री पुष्पकमल दाहालले वर्तमान सत्ता गठबन्धन पूरा कार्यकालसम्म जाने विश्वास व्यक्त गरेका छन्।
भारतको दुई दिने औपचारिक भ्रमण पूरा गरी आज स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उनले सत्ता गठबन्धन पूरा कार्यकाल जाने बताए।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथग्रहण समारोहमा भाग लिन प्रधानमन्त्री दाहाल आइतबार भारत गएका थिए ।
प्रधानमन्त्री दाहालले एमाले अध्यक्ष केपी ओलीले पार्टी कार्यक्रममा व्यक्त गरेका कतिपय विचारका कारण सत्ता गठबन्धनमा कुनै असर नगर्ने बताए। संसद् विघटन बाध्यता भएको ओलीको धारणालाई लिएर सरकारमा कुनै नराम्रो हुने स्थिति नरहेको उनले बताए।
‘केपी ओलीजीले यो धारणा सँधै राख्दै नै आउनुभएको छ। उहाँको धारणा, उहाँको पार्टीमा प्रस्तुत गर्नुभएको हो। यसले गठबन्धनलाई केही असर गर्दैन । हामी सबैले बुझेको हो,’ उनले भने, ‘आफ्नो धारणा, आफ्नो पार्टीमा राख्नुलाई स्वभाविक नै ठानेको छु। यसले समीकरणमा केही हुन्छ की भन्न खोज्नुभएको हो भने केही फरक पर्ने स्थिति छैन।’
प्रधानमन्त्री दाहालले आफ्ना भारतीय समकक्षीसँग दुई देशबीचको संयन्त्रमार्फत छलफल गरेर समस्या हल गर्नुपर्नेलगायतका विषयमा छलफल भएको उल्लेख गर्नुभयो । उहाँले अब ती विषयमा सकारात्मक समाधान निस्कनेमा आफू आशावादी रहेको बताए।
उनले पञ्चेश्वर बहुउद्देश्यीय आयोजना अब अगाडि बढ्ने विश्वास व्यक्त गरे।