Kathmandu Press

सुदुरपश्चिममा मन्त्री नियुक्ति रोक्न माओवादीका पाँच सांसदको असहमति पत्र

सुदुरपश्चिममा मन्त्री नियुक्ति रोक्न माओवादीका पाँच सांसदको असहमति पत्र

धनगढी, जेठ २८ : सुदूरपश्चिम प्रदेशका नेकपा माओवादी केन्द्र निकटस्थ पाँच सांसदले मन्त्री नियुक्ति रोक्न मागसहित मुख्यमन्त्रीलाई पत्र बुझाएका छन्।

नेकपा एमाले र माओवादी केन्द्रले सुदूरपश्चिम प्रदेश सरकारमा पठाउने प्रदेश सभा सदस्यको नाम मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई बुझाए लगत्तै माओवादी केन्द्रका पाँच सांसदले नियुक्ति रोक्न माग राखेर पत्र बुझाएका हुन्।

Hardik ivf

माओवादी सांसद खगराज भट्ट, झपटबहादुर रावल, शिवसिंह ओली, रमेशसिंह धामी र जानकी कुँवर पौडेलले उक्त पत्र बुझाएको जनाइएको छ।

माओवादी केन्द्र प्रदेश संसदीय दलका नेता मानबहादुर धामीले मन्त्रीका लागि अक्कलबहादुर रावल, ओमबिक्रम भाट र लक्ष्मी बिकको नाम मुख्यमन्त्रीलाई बुझाइसकेको अवस्थामा पाँच सांसदले रोक्न माग राखेपछि मन्त्री नियुक्तिमा पुनः विवाद सिर्जना भएको छ।

उक्त पत्रमा संसदीय दल र पार्टीमा छलफल नगरी दलको नेताले आफूखुसी नाम पेस गरेको दाबी गरिएको छ । ति नाममा पाँचजना सांसदले असहमती राखेका छन्।

माओवादी केन्द्रका बहुमत प्रदेश सभा सदस्यले दलको नेताबाट भट्टलाई हटाउँदै मानबहादुर धामीलाई दलको नेता बनाएका थिए। मुख्यमन्त्री सोडारी सोमबार नै मन्त्रालय फुटाएर भए पनि मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारीमा छन्।

यता, नागरिक उन्मुक्ति पार्टीको रञ्जिता श्रेष्ठ पक्षधर भौतिक पूर्वाधार तथा सामाजिक विकास मन्त्री कैलाश चौधरीले पनि मन्त्रालय विभाजनमा सहमत हुन नसकिने अडान लिएका छन्। मन्त्री चौधरीले आफ्नो मन्त्रालय टुक्रयाइए सरकारबाट बाहिरिने चेतावनी समेत दिएका छन्।

प्रकाशित मिति: १५:२२ बजे, सोमबार, जेठ २८, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्