आर्थिक विकासका लागि स्थिर राजनीतिक प्रणाली आवश्यक छ : मन्त्री श्रेष्ठ
उनले नेपालले विविधतालाई अंगालेर पिछडिएका समूहहरूलाई सशक्त बनाउने काम गरिरहेको भन्दै नेपाल–भारत सम्बन्ध साझा समृद्धि झल्काउन व्यापार, कनेक्टिभिटी, पर्यटन र अन्य सकारात्मक सम्बन्धका विषयमा केन्द्रित हुनुपर्नेमा जोड दिए।
काठमाडौं, जेठ २७ : उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपालको आर्थिक विकास, समृद्धि र विकास लक्ष्यहरूको परिपूर्तिका लागि स्थिर राजनीतिक प्रणाली आवश्यक रहेको बताएका छन्।
आइतबार काठमाडौंमा भएको ‘वर्तमान वैश्यिक परिदृश्यमा ज्ञान परम्परा नेपाल–भारतको सांस्कृतिक सन्दर्भ’ विषयक दुई दिवसीय संगोष्ठीमा उनले सामाजिक परिवर्तन बुझ्नको लागि सामाजिक संरचना र संस्थाहरूको जाँच आवश्यक रहनका साथै विकास लक्ष्यहरूको परिपूर्तिका लागि स्थिर राजनीतिक प्रणाली आवश्यक रहेको बताए।
‘सामाजिक परिवर्तन बुझ्नको लागि सामाजिक संरचना र संस्थाहरूको जाँच आवश्यक रहन्छ। नेपालको आर्थिक र राजनीतिक अल्पविकसित अवस्थाबाट उच्च आर्थिक वृद्धिको मार्ग, आर्थिक विकास र समृद्धि र विकास लक्ष्यहरूको परिपूर्ति गर्ने उद्देश्यले स्थिर राजनीतिक प्रणाली आवश्यक छ,’ उनले भने।
उनले नेपालले विविधतालाई अंगालेर पिछडिएका समूहहरूलाई सशक्त बनाउने काम गरिरहेको भन्दै नेपाल–भारत सम्बन्ध साझा समृद्धि झल्काउन व्यापार, कनेक्टिभिटी, पर्यटन र अन्य सकारात्मक सम्बन्धका विषयमा केन्द्रित हुनुपर्नेमा जोड दिए।
उनले दुई देशबीचको सम्बन्धले विकास, समृद्धि र सामाजिक परिवर्तनको नयाँ युगको शुरुवात हुने विश्वास व्यक्त गरे।